‘भारतको क्षेप्यास्त्र परीक्षणप्रति अमेरिका सन्तुष्ट’

वासिङ्टन, वैशाख १३ । चीनको राजधानी बेइजिङसम्म मार हान्न सक्ने क्षमताको ‘अग्नि–५’ क्षेप्यास्त्रको भारतले सफल परीक्षण गरेपछि अमेरिका प्रसन्न भएको दुई अमेरिकी वरिष्ठ विश्लेषकले बताएका छन् । भारतले चीनबाट सिर्जना हुन सक्ने सामरिक चुनौती सामना गर्ने दिशामा उल्लेख्य उपलब्धि हासिल गरेकोले यसबाट अमेरिका प्रसन्न भएको उनीहरूले बताएका छन् । अमेरिकामा रहेको ‘द हेरिटेज फाउन्डेसन’ नामक संस्थासँग आबद्ध विश्लेषकद्वय लिजा कर्टिस र बाकर स्प्रिङले हालै प्रकाशित संयुक्त लेखमा यस्तो बताएका छन् । उनीहरू फाउन्डेसनका दक्षिण एसियाविद् हुन् ।

भारतले गरेको क्षेप्यास्त्र प्रक्षेपणको विरोध नगरेर अमेरिकाले भारतीय कदमप्रति सन्तोष व्यक्त गरेको धारणा उनीहरूले व्यक्त गरेका छन् । ‘पारमाणविक र क्षेप्यास्त्रसँग सम्बन्धित क्षेत्रमा भारतले हासिल गरेको प्रगतिप्रति अमेरिका सन्तुष्ट छ । परमाणु क्षमतासहितको लामो दूरीसम्म मार हान्न सक्ने ‘अग्नि–५’ क्षेप्यास्त्रको सफल परीक्षणबाट भारतले आफूलाई क्षेत्रीय प्रतिस्पर्धी चीनविरुद्ध सशक्त बनाएको छ,’ लेखमा भनिएको छ । भारतले क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाले सबै परमाणु शक्तिराष्ट्रलाई संयम रहन अग्रह गरेको थियो तर उसले ‘अग्नि–५’ परीक्षणको आलोचना गरेको थिएन ।
‘सन् १९९० को दशकताका भारतको ब्यालेस्टिक मिसाइल विकास कार्यक्रमप्रति अमेरिकाको अडान अहिलेको भन्दा सर्वथा भिन्न थियो । त्यतिबेला भारतलाई आफ्नो पारमाणविक र क्षेप्यास्त्रसँग सम्बन्धित विषयप्रतिको धारणामा परिवर्तन गर्न अमेरिकाले दबाब दिएको थियो,’ लेखमा भनिएको छ । भारतको क्षेप्यास्त्र क्षमताप्रति परिवर्तन भएको अमेरिकी धारणाले पछिल्लो दशकमा अमेरिका–भारत सम्बन्ध कति धेरै विकसित भएछ भन्ने देखाएको उनीहरूले बताएका छन् । एसियाको शान्ति र स्थिरताका लागि अमेरिकाले भारतलाई रणनीतिक साझेदारका रूपमा लिएको दाबीसमेत उनीहरूले गरेका छन् ।
पाँच दिनअघि भारतले परीक्षण गरेको अन्तरमहाद्वीपीय क्षेप्यास्त्रले पाँच हजार किलोमिटरसम्मको दूरीलाई निसान बनाउन सक्छ । यसबाट चिनियाँ सहर बेइजिङ र सांघाईबाहेक इरानको तेहरान, फिलिपिन्सको मनिला, इन्डोनेसियाको जाकर्ता, थाइल्यान्डको बैंकक आदि सहरसम्म निसाना साँध्न सक्ने क्षमता भारतले हासिल गरेको छ ।

प्रतिक्रिया