खारेजीमा परेको सहकारीद्वारा तीन करोड ठगी

काठमाडौं, १२ वैशाख । डिभिजन सहकारी कार्यालय काठमाडौंले खारेज गरेको चाबहिलस्थित हिमशिखर को–अपरेटिभ लिमिटेडले निक्षेपकर्ताको तीन करोड रुपियाँ खाएको छ । सो सहकारीलाई डिभिजन सहकारीले गत साल नै खारेज गरेको हो ।

निक्षेपकर्ताको तीन करोड रुपियाँ लिएर सहकारीका अध्यक्ष गंगाबहादुर कार्की फरार भएका छन् । संस्था खारेजीमा परेको सञ्चालक, निक्षेपकर्ता, कर्मचारीले समेत थाहा नभएको बताए ।
करिब चार हजार दुई सय सदस्य रहेको संस्थामा पाँच हजारदेखि २० लाख रुपियाँसम्मको निक्षेप रहेको थियो । अध्यक्ष कार्की निक्षेपकर्ताको तीन करोड रुपियाँ लिएर सम्पर्कविहीन भएपछि सञ्चालक, कर्मचारी तथा निक्षेपकर्ता चिन्तित भएका छन् । संस्थाका सचिव महेश्वर शर्मा र सदस्य किशोर कार्की पनि फरार छन् । सो सहकारीको उपाध्यक्षमा बालकृष्ण शाही, कोषाध्यक्ष हेमचन्द्र महतो र सञ्चालक सदस्य आशाकाजी महर्जन छन् ।
कोषाध्यक्ष महतोले हालसम्म साधारणसभासमेत नगरेका बताए । ‘संस्था खारेजीमा गएको मलाई थाहा थिएन,’ उनले भने, ‘मेरो पनि साढे सात लाख निक्षेप छ ।’
निक्षेपकर्ताले हिमशिखर बचत पीडित संघ भनी स्थापना गरेका छन् । ‘संस्था खारेजीपछि सञ्चालन भएको छ कि छैन भनेर अनुगमन गर्नुपथ्र्याे,’ पीडित संघका अध्यक्ष केदारप्रसाद दाहाले भने, ‘सबै निक्षेपकर्ता मिली डिभिजन कार्यालय घेर्ने छौँ ।’
पीडितपक्षले ३ वैशाखमा महानगरीय प्रहरीवृत्त बौद्ध, प्रहरीवृत्त गौशाला र डिभिजन सहकारी कार्यालय काठमाडौंमा जाहेरी दिएको उनले जानकारी दिए । डिभिजन सहकारी कार्यालय काठमाडौंले संस्थालाई पूर्ण रूपमा खारेज गरेको भए पनि निक्षेपकर्ताबाट बचत संकलन कार्य भइरहेको कर्मचारीले बताएका छन् ।
सो सहकारी ०६७ मा डिभिजनमा दर्ता भएको हो । स्थापना भएदेखि नै हालसम्म साधारणसभा तथा सञ्चालक समितिको बैठकसमेत नबसेको कोषाध्यक्ष महतोले बताए । केही समय अघिसम्म पनि निक्षेप संकलन भइरहेको संस्थाकी कर्मचारी रमा थपलियाले बताइन् । ‘संस्था खारेज भएको भन्नेबारेमा हामीलाई पनि केही थाहा थिएन,’ उनले भनिन्, ‘हामी कर्मचारीको पनि ५० हजारदेखि पाँच लाख रुपियाँसम्म निक्षेप छ ।
अध्यक्ष सम्पर्कविहीन भएको थाहा पाएपछि निक्षेपकर्ता दैनिक तीन सयदेखि पाँच सय निक्षेपकर्ता कार्यालयमा धाउने गरेको उनले बताइन् । संस्थामा सिके प्रज्वलविक्रम अधिकारीको २० लाख, सिके लामाको १५ लाख, रवीन खड्का १० लाख, कुमार बस्नेतको पाँच लाख निक्षेप छ ।
पीडितको उजुरीका आधारमा संस्थाका सञ्चालकलाई ठगी कारबाहीमा महानगरीय प्रहरी प्रभाग हनुमान ढोकालाई पत्राचार गरिएको डिभिजन कार्यालयका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । दुई वर्षदेखि वार्षिक साधारणसभा नगरेको, वार्षिक लेखापरीक्षण नगरेको, सञ्चालक समितिको बैठक नबसेको, मासिक विवरण नबुझाएको भन्दै ०६७ सालमा सहकारी संस्थालाई खारेज गरेको शर्मा बताउँछन् । सहकारी ऐन ०४८ को दफा ३४ मा कुनै पनि सहकारी संघ/संस्थाले लगातार दुई वर्षसम्म साधारणसभा र कारोबार नगरी निष्क्रिय रहे दर्ता खारेज हुने व्यवस्था छ ।
‘सहकारी संस्था खारेज भइसकेकाले अब लिक्विडिसनमा जानको विकल्प छैन्,’ उनले भने, ‘विघटनकर्ता तोकिएपछि सो व्यक्तिले हिसाबकिताब मिलाएर निक्षेपकर्तालाई निक्षेप फिर्ता गरिने प्रक्रिया अघि बढ्छ ।

कृषिमा व्यवसायीकरण आवश्यक
काठमाडौं ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले ग्रामीण क्षेत्रका सहकारीका समस्या तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने सन्दर्भमा कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष रामशरण घिमिरेले बताए । सहकारीका माध्यमबाट किसानको आर्थिक तथा सामाजिक पक्ष कसरी माथि उकास्न सकिन्छ भन्नेबारेमा घिमिरेले सहभागीहरूलाई प्रस्ट पारेका थिए । कृषिप्रधान मुलुक भए पनि कृषिउपज आयात गरिनुपर्ने बाध्यता रहेको भन्दै उनले कृषिमा व्यवसायीकरण आवश्यकता रहेको बताए । सहकारीको माध्यमबाट कृषिक्षेत्रलाई माथि उठाउन सकिने उनको धारणा थियो ।
सहकारीको लक्षित वर्ग ग्रामीण क्षेत्र रहेकाले ललितपुर क्षेत्र– १ देवीचौरमा कार्यक्रम आयोजना गरिएको संघका सचिव रामहरि बजगाईंले बताए । कार्यक्रमा देवीचौरमा सञ्चालित चारवटा सहकारीका सञ्चालकको सहभागिता थियो । सहभागी सहकारीका प्रतिनिधिले ग्रामीण भेगमा सञ्चालित सहकारीका विभिन्न समस्याका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा संघका गतिविधि, भावी कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । सहकारी वर्ष भव्यरूपले मनाउनका लागि सहकारी चेतना फैलाउने कार्यक्रम आयोजना गरिने संघले जनाएको छ ।

प्रतिक्रिया