रियल र बायर्नबीच दोस्रो भिडन्त आज

म्याड्रिड, १३ वैशाख । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति रियल म्याड्रिड र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हँदै छ । घरेलु मैदान सान्टिएगो बर्नबाउमा स्पेनिस क्लब रियलले जर्मन दैत्य बायर्नको सामना गर्न लागेको हो ।
गत साता विपक्षी मैदानमा भएको पहिलो लेगमा २–१ ले पराजित भएको नौपटकको विजेता रियललाई फाइनल प्रवेशका लागि कम्तीमा १–० को नतिजा पर्याप्त हुनेछ । पहिलो लेगमा पराजित भए पनि रियललाई ‘अवे गोल’ को एडभान्टेज रहन सक्छ ।
यता सन् २०१० को संस्करणमा उपविजेता भएको बायर्नलाई भने कम्तीमा बराबरीको नतिजाले फाइनलमा प्रवेश गराउनेछ । बायर्नविरुद्ध हार व्यहोरे पनि रियल उच्च मनोबलमा छ । गत साता स्पेनिस लिगमा बार्सिलोनालाई पराजित गरेपछि ला लिगाको उपाधिनजिक पुगेको रियल घरेलु मैदानमा भएका युरोपियन च्याम्पियन्स लिगका खेलमा पछिल्लो समय बलियो रहँदै आएको छ । जारी संस्करणमा रियलले आफ्नो मैदानमा कुनै पनि खेल हारेको छैन । सान्टिएगोमा भएका पछिल्ला ११ युरोपियन च्याम्पियन्स लिग खेलमा रियलले १० जित र एक बराबरी खेलेको छ । त्यसो त बायर्नविरुद्ध स्पेनमा खेलिएका खेलमा रियलले ६ जित र एक बराबरी खेलेको छ । समग्रमा बायर्नविरुद्ध रियलको नतिजा १७ जित, तीन बराबरी र दुई हार छन् ।
‘अवे’ खेलमा पछिल्लो समय बायर्न म्युनिखको नतिजा भने त्यति राम्रो छैन । युरोपियन च्याम्पियन्स लिगका पछिल्ला चार ‘अवे’ खेलमा बार्यनले एकपटक मात्र जित हात पारेको छ । यद्यपि, समग्र प्रतियोगितामा बायर्नले पछिल्ला १३ मध्ये ११ खेलमा जित हात पारेको छ । स्पेनमा बायर्नको प्रदर्शन समग्रमा नराम्रो रहे पनि पछिल्लो समय भने सन्तोषजनक छ । सन् २००१ पछि पहिलोपटक गत सेप्टेम्बरमा बायर्नले स्पेनमा भिल्ला रियललाई पराजित गरी जित हात पारेको थियो ।
रियलविरुद्धको खेलका लागि बायर्नले गत शनिबार वेडर ब्रिमेनविरुद्धको खेलमा केही महत्त्वपूर्ण खेलाडीलाई आराम दिएको थियो । गोन्जालो हिगुइन र काका रियलका लागि बुधबार पहिलो ११ सदस्यीय टिममा उत्रने सक्ने बताइएको छ । फाबिओ कोन्ट्राओको स्थान मार्सेलोले लिने पनि अनुमान छ ।
चोटका कारण पहिलो लेगमा बीचमै बाहिरिएका बायर्नका बास्टिएन स्वेयन्स्टाइगर पनि बुधबार पहिलो ११ सदस्यीय टिममै उत्रने जनाइएको छ । यस खेलमा रियलका क्रिस्टियानो रोनाल्डो र बायर्नका मारियो गोमेज र फ्रान्क रिबेरी प्रमुख आकर्षण बन्ने पक्का छ । पहिलो लेगमा रिबेरीको गोलमार्फत सुरुआती अग्रता लिएको बायर्नका लागि गोमेजले निर्णायक गोल गरेका थिए । त्यस खेलमा गोल गर्न नसके पनि बार्सिलोनाविरुद्ध निर्णायक गोल गरेर पुन: विश्व फुटबलमा एकपटक चर्चाको शिखरमा पुगेका रोनाल्डो बायर्नको प्रमुख चिन्ताको विषय बन्ने पनि पक्का छ ।
“म्यान युको याद आइरहन्छ”
हाल स्पेनिस क्लब रियल म्याड्रिडबाट आफ्नो उचाइ निरन्तर कायम गरिरहेका पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले पूर्वक्लब म्यानचेस्टर युनाइटेडको याद आइरहने बताएका छन् ।
उनले अझै पनि सो इङलिस क्लब र त्यसका प्रशिक्षक सर एलेक्स फर्गुसनको सम्बन्ध स्वस्थ र सुमधुर रहेको बताएका छन् । म्यान युसँग ६ वर्ष रहेपछि सन् २००९ मा कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा रोनाल्डो स्पेनिस रियलतिर आएका थिए ।
जारी सिजनमा २७ वर्षीया रोनाल्डोले रियलका लागि स्पेनिस लिगमा कीर्तिमानी ४२ गोल गरिसकेका छन् । उनको यस सफलतासँगै रियल पनि घरेलु लिगको उपाधिनजिक पुगेको छ ।
उनले फर्गुसनसँग र म्यान युमा रहेका आफ्ना पुराना खेलाडीसँग अझसम्म कुराकानी भइरहेको बताएका हुन् । ‘म कहिले–कहिले फर्गुसनसँग कुरा गर्छु, अवश्य पनि म म्यानचेस्टरलाई सम्झन्छु,’ उनले भने । म्यान युलाई अझैसम्म आफ्नो परिवारजस्तै लाग्ने गरेको बताउँदै रोनाल्डोले प्याट्रिक इभ्रा, रियो फर्डिनान्ड, नानी, एन्डरसनलगायतका खेलाडीसँग कुराकानी भइरहने बताए । म्यान युलाई च्याम्पियन्स लिग जिताउँदाको क्षण आफ्नो जीवनकै महत्त्वपूर्ण भएको उनको भनाइ छ । ‘मेरो जीवनकै सबैभन्दा खुसीको क्षण भनेको म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिग जिताउँदा र रियल म्याड्रिडलाई आफू आएपछि पहिलो उपाधि दिलाउँदाको हो,’ उनले भने । म्यान युमा रहने क्रममै रोनाल्डोले फिफा वर्ष–खेलाडी अवार्ड हात पारेका थिए ।

प्रतिक्रिया