नेकोसमा फेरि पुरुषोत्तम

काठमाडौं : बाराका पुरुषोत्तम पौडेलको नेतृत्वलाई निरन्तरता दिंदै नेपाल खेलकुद महासंघको पहिलो राष्ट्रिय महासम्मेलन सोमबार सम्पन्न भयो । सोमबारै सम्पन्न निर्वाचनले ८१ सदस्यीय कार्यसमितिको चयन गरेको छ । आइतबार निर्वाचन प्रक्रिया सुरु भएको महासम्मेलनले पौडेललाई अध्यक्ष, लक्ष्मण श्रेष्ठलाई प्रथम उपाध्यक्ष तथा विजय राईलाई उपाध्यक्षमा निर्विरोध चयन गर्‍यो । यसैगरी पूर्वाञ्चलका केशव विष्ट, मध्यमाञ्चलका मोहम्मद समी अब्दुल्ला, उपत्यकाका कुमार ओझा, पश्चिमाञ्चलका खड्ग रानाभाट, मध्यपश्चिमका विनोद मैनाली र सुदूरपश्चिमका हर्कसिंह धामीलाई उपाध्यक्षमा चयन गर्‍यो । लामा टेन्डी शेर्पा महासचिवमा निर्विरोध भए । आइतबार राति भएको निर्वाचनबाट राजेन्द्र श्रेष्ठ उपमहासचिवमा निर्वाचित भए ।
कार्यसमितिमा निर्विरोध निर्वाचित लक्ष्मण नेपाल आर्चरी संघका अध्यक्ष हुन् भने उनी लामो समयदेखि फुल कन्टयाक्ट कराते क्योकुसिनसँग सम्बन्धित छन् । यसैगरी उपाध्यक्षमा चयन भएका रानाभाट एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी हुन् । महासचिवमा निर्वाचित लामा नेपाल बास्केटबल संघका अध्यक्ष हुन् ।
निर्वाचनले बद्री अधिकारी, रेवती पन्त, वीरेन्द्र श्रेष्ठ, धर्म श्रेष्ठ र उपेन्द्र पौडेललाई सचिवमा निर्वाचित गर्‍यो । सचिव बनेका धर्म जुडो प्रशिक्षक हुन् भने बद्री फुल कन्टयाक्ट करातेसँग सम्बन्धित छन् । वीरेन्द्र ब्याडमिन्टनका पूर्वराष्ट्रिय खेलाडी हुन् । रत्नलक्ष्मी श्रेष्ठ महिला सचिवमा निर्वाचित भइन् । साधारणसभाले नेपालकी पूर्वस्प्रिन्ट च्याम्पियन उषा कर्ण, नेपाल आइटिएफकी प्रशिक्षक योगिता साहनी र हक्कीका मुख्य प्रशिक्षक बाबुराम नेपाललाई सदस्यमा चयन गर्‍यो । साधारणसभाबाटै सदस्यमा निर्वाचित हुनेमा फुल कन्टयाक्ट करातेकी प्रशिक्षक सञ्जु महर्जन, कबड्डीकी पूर्वराष्ट्रिय खेलाडी शकुन्तला नगरकोटी, फुटबलकी राष्ट्रिय रेफ्री माया लामा, कराते प्रशिक्षक महेन्द्र राई र बुद्धिचालका फिडेआर्बिटर हेराकाजी महर्जन पनि रहे ।
तीनदिने महासम्मेलनको एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा खनालले खेलकुदका लागि राज्यले कमसेकम एक प्रतिशत रकम छुटयाउनुपर्ने मागमा सकारात्मक भएको बताएका थिए । बन्दसत्रमा एमाले नेता खड्ग ओलीले एमालेनिकट खेलकर्मीका लागि साधारणसभा महत्त्वपूर्ण रहेको विचार व्यक्त गरे । साधारणसभाले अध्यक्ष पौडेलको प्रतिवेदन, निवर्तमान महासचिव लक्ष्मण श्रेष्ठले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन र सचिव वीरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई स्वीकृत गरेको थियो । बन्दसत्रमा नै विधानमा संशोधन गरी एक महिलासहित ६ सचिव तथा एक प्रथमसहित सात उपाध्यक्ष राख्ने व्यवस्थालाई स्वीकार गरिएको थियो । साधारणसभामा १५ खेल संघ र ५६ जिल्ला संघको पनि प्रतिनिधित्व थियो । निर्वाचन योगेश भट्टराई, विजय पौडेल, शेरबहादुर तामाङ र जीवनराम श्रेष्ठ रहेको अध्यक्ष मण्डलले सम्पन्न गरेको थियो । (सौस)

प्रतिक्रिया