खयरका गोलिया बरामद

कैलाली, ११ वैशाख । डोटी बर्छैन–४ ठूलीगाड र खरहरमा काठ तस्करले लुकाएर राखेका खयरका गोलिया फेला परेका छन् । जिल्ला वन कार्यालय डोटीले दुई वर्षदेखि काठ कटानी र पैठारी रोक्का गरे पनि सामुदायिक वन क्षेत्रमा ठूलो परिमाणमा काठ भेटिएको हो । डिएफओ जयमंगलप्रसादका अनुसार खरहरमा एक सय ९८ थान र ठूलीगाड बगरमा एक सय ४० थान खयर लुकाएर राखिएको अवस्थामा फेला परेको हो । काठको परिमाण तीन सय ३५ दशमलव ४७ क्युफिट रहेको छ ।
स्थानीय बासिन्दाका अनुसार बर्छैन–४ का स्थानीय ठेकेदारले कैलाली खैरला–७ स्थित सरकारी वन क्षेत्रबाट खयर काटेर डोटीको वन क्षेत्रमा लुकाएका हुन् । ठेकेदारले कैलालीको सरकारी वन क्षेत्रबाट काठ काटेर डोटीको छोडपुर्जी बनाएर काठ निकासी गर्ने गरेको पाइएको छ । बर्छैनका काठ व्यवसायी तापसी कलेलले खयरको काठ काटेर लुकाउनेलाई वन कार्यालयले छानबिन गर्नुपर्ने बताए ।
यता, लाना केदारेश्वर रेन्जरपोस्ट बिपीनगरले अवैध रूपमा रूख सुकाउने रिङ लगाउने, रूख काट्ने र सामुदायिक वनको रकम हिनामिना गर्ने वन पदाधिकारीलाई तारेखमा राखेको छ ।
प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेरबहादुर पुलामी मगर, जनमुखी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जंगबहादुर लामिछाने, हरियाली सामुदायिक वनका अध्यक्ष खड्गबहादुर विक र गंगरी सामुदायिक वनका अध्यक्ष कृष्ण नेपाली तथा सचिव वीरबहादुर नाम्जालीलाई तारेखमा राखेको हो ।

प्रतिक्रिया