अञ्चल अस्पतालहरू ‘रिफर सेन्टर’ जस्तै

काठमाडौं, ११ वैशाख । सेवासुविधा दिन नसकेपछि अञ्चल अस्पतालहरू रिफर सेन्टरमा परिणत भएका छन् । सगरमाथा अञ्चल अस्पताल राजविराज, धौलागिरि अञ्चल अस्पताल बाग्लुङ र राप्ती अञ्चल अस्पताल तुलसीपुरमा दरबन्दीअनुसारका डाक्टर र पूर्वाधारको अभावमा अधिकांश बिरामी रिफर हुने गरेका छन् ।
राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा बिरामी छाता ओढेर भुइँमा सुत्न बाध्य छन् । उपचारका लागि आएका बिरामीका लागि अस्पतालमा शय्याको अभाव छ । त्यस्तै, पानी परेपछि भवन चुहिने भएकाले बिरामी भएर अस्पताल जाँदा छाता लैजानुपर्ने बाध्यता छ । ५० शय्याको नयाँ भवन सञ्चालनमा आए पनि बिरामीका समस्या घटेका छैनन् ।
०२८ सालमा भारतको सहयोगमा सगरमाथाका ६ जिल्लाका बिरामीका लागि स्थापित अस्पतालमा दरबन्दीअनुसार चिकित्सक, उपकरण एवं भौतिक पूर्वाधार छैन । अस्पतालमा १९ डाक्टरको दरबन्दी भए पनि ११ मात्र कार्यरत छन् । तीमध्ये एकजना करारमा छन् ।
अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरू धरान, विराटनगर काठमाडौंलगायत सहरमा जान बाध्य छन् । ‘अस्पताल अञ्चल अस्पताल नभई रिफर सेन्टरमा परिणत भएको छ,’ स्थानीय महेश्वर भारती भन्छन्, ‘अस्पतालमा बिरामीको भर्नासँगै रिफर कागज पनि तयार भइसक्छ ।’ अस्पतालमा एक सर्जन, दुई स्त्रीरोग विषेशज्ञ तथा एक दन्तचिकित्सकको दरबन्दी भए पनि पद रिक्त छन् । प्राविधिकको अभावमा अस्पतालले अल्ट्रासाउन्ड, एक्सरेलगायत उपकरण प्रयोगमा ल्याउन सकेको छैन ।
सेवासुविधाका हिसाबले अस्पतालले अञ्चल अस्पतालको हैसियत कायम गर्न सकेको छैन भने राजनीतिक नियुक्तिका कारण अस्पताल विकास समितिका अध्यक्ष र कर्मचारीबीच पनि मिलेमतो छैन । अस्पतालका अध्यक्ष विनोद यादवले डाक्टर तथा कर्मचारीले नटेरेका कारण अस्पताललाई सुधार्न नसकेको आरोप लगाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् ।
यस्तै, धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन् । दरबन्दी भएका डाक्टर पनि अन्यत्र बसेपछि बिरामी पोखरा र अन्य सहर धाउन बाध्य छन् ।
१३ विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि अस्पतालमा हाडजोर्नी, नसा, स्त्री, छाला र बालरोग विशेषज्ञ छैनन् । जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, नाक, कान र घाँटी रोग, एनेस्थेसियोलोजिस्ट र मेडिकल सुपेरिटेन्डेन्टलगायतको पद रिक्त छ । अस्पतालमा दरबन्दीका नर्सिङ प्रशासक छैनन् भने एक्स–रे र प्रयोगशाला पनि प्रयोगविहीन छन् ।
अस्पतालमा मेडिकल सुपेरिटेन्डेन्ट डा. तरुण पौडेल र कन्सल्टेन्ट सर्जन श्रीकृष्ण भट्ट मात्र कार्यरत छन् । मन्त्रालयले बालरोग विशेषज्ञ होमप्रसाद न्यौपानेलाई गत कात्तिकमा काज फिर्ता गरेर धौलागिरि अञ्चल अस्पतालमा पठाए पनि उनी पोखरामा फेवा सिटी हस्पिटल प्रालि चलाएर बसेका छन् र क्षेत्रीय अस्पताल पोखरामा कार्यरत छन् । न्यौपानेले तलब भने धौलागिरि अञ्चल अस्पतालबाट बुझ्ने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका डाक्टर अमिता थापा प्रधान ०६३ देखि अस्पतालमा नआएपछि कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरिएको अञ्चल अस्पतालका विकास समिति अध्यक्ष कृष्ण केसीले बताए । अर्का डाक्टर अभय पोखरेलले अञ्चल अस्पतालको नयाँ सुविधासम्पन्न भवनमा अप्रेसन थिएटर र आइसियु कक्ष बनेपछि मात्र जिल्ला आउने बताए पनि तलब अञ्चल अस्पतालकै नामबाट लिइरहेका छन् । अन्य आठ विशेषज्ञ डाक्टर स्वास्थ्य मन्त्रालयले नै नपठाएको अस्पताल प्रशासन शाखाका विष्णु पौडेलले बताए ।
अस्पतालमा आउने अधिकांश बिरामी पोखरा जान बाध्य छन् । ६ मेडिकल अधिकृत दरबन्दी रहेको अस्पतालमा चार मात्र कार्यरत छन् भने डाक्टर तीर्थेन्द्र खड्का अध्ययनका लागि बिदामा रहेको अस्पतालले बताएको छ ।
राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङको पनि कथा उस्तै छ । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट नै छैनन् । स्त्रीरोग, चर्मरोग, हाडजोर्नी, दन्तरोग र बालरोग विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि डाक्टरहरू छैनन् । अस्पतालमा प्याथोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, नर्सिङ र प्रशासकको दरबन्दी पनि रिक्त छ । करारमा राखिएका पाँच डाक्टर पनि अस्पतालभन्दा बाहिर नै बढी व्यस्त भएपछि राप्ती अञ्चल अस्पतालमा बिरामीले सेवा पाउन सकेका छैनन् ।
अस्पतालमा १९ विशेषज्ञसहित ७२ कर्मचारीको दरबन्दी भए पनि कन्सल्टेन्ट सर्जन डा. दीपक थापा र मेडिकल जनरलिस्ट डा. केदार सेन्चुरीमात्र कार्यरत छन् । सेन्चुरी अस्पताल प्रमुख हुन् । दुई डाक्टरले अस्पतालमा दैनिक आउने बिरामीलाई सेवा दिन नसकेपछि रुकुम, रोल्पा, प्युठान र सल्यानका सेवाग्राही ‘रिफर’ को कागज लिनमात्र अस्पताल आउने गरेको जस्तो भइरहेको डाक्टरहरू नै बताउँछन् ।
नाक, कान, घाँटी, छाला, हाड, दाँतका समस्या लिएर अस्पताल आएका ८० प्रतिशत बिरामी रिफर हुने गरेका छन् । पाँच जिल्लाका सेवाग्राहीलाई लक्षित गरी ०६३ मा स्थापित अञ्चल अस्पतालमा साधारण घाउ चोटपटक र सामान्य अवस्थाका सुत्केरीले मात्र सेवा पाएका छन् । ‘डाक्टर नै नभएपछि कसरी उपचार हुनु,’ प्रशासकीय अधिकृत नीमबहादुर वली भन्छन्, ‘उपचारको साटो अधिकांश बिरामीलाई रिफर गर्ने गरिएको छ ।’ अस्पतालमा आकस्मिक १०, बहिरंगमा ५० बेड भए पनि कोठाका अभावले आधाभन्दा बढी बेड राखिएका छैनन् ।
दुई वर्षअघिदेखि अञ्चल अस्पताल भवन निर्माण थालिए पनि पूरा नभएका कारण मासिक ४५ हजार रुपियाँमा भवन भाडामा लिएर अस्पताल सञ्चालन भइरहेको हो । अस्पतालमा गत माघमा स्वास्थ्य सेवा विभागबाट आएका जनरल फिजिसियन डा. मुकुन्दप्रसाद आचार्य एक दिन बसेर फर्किए । अस्पतालका प्रशासकीय अधिकृत वली भन्छन्, ‘आचार्य एक दिन हाजिरी लगाएर काजमा भन्दै पोखराको पश्चिमाञ्चल अस्पतालमा गएका हुन् ।’ दाङमा दरबन्दी भएर पोखरामा कार्यरत आचार्यले तलब भने दाङबाटै लिन दबाब दिइरेको अस्पताल प्रशासनले जनाएको छ ।
घरपायकमा रहेका १८ स्टाफ नर्स र पाँच अहेबले अस्पतालमा काम गरेका छन् । बिरामीले सेवा नपाएजस्तै कार्यरत डाक्टरहरू पनि खुसी छैनन् । अस्पताल प्रमुख डा. सेन्चुरी भन्छन्, ‘डाक्टरका लागि कुर्सी र कोठासमेत छैन ।’ अस्पतालमा विद्युत् अवरुद्ध हुँदा सेवा दिन जेनेरेटर, इन्भर्टर पनि छैन ।

प्रतिक्रिया