विद्यार्थी यार्सागुम्बा जाँदा विद्यालय बन्द

कैलाली, ११ वैशाख । यार्सागुम्बा संकलनका लागि विद्यार्थी हिमाली भेगतिर लागेपछि सुदूरपश्चिमका तीन जिल्लाका सात दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन् ।
बझाङको लेकगाउँ, काँडा, दहबगर, सुर्मा, दौलीचौरका स्थानीय र विद्यार्थी यार्सागुम्बा संकलनका लागि हिमालतिर गएका हुन् । यस्तै, दार्चुलाको घुन्सा खण्डेश्वरी, लटिनाथ, सितौला, यारकोर्ट, सेरी, सिद्धी, खार, राप्ला, व्यास, धौलाकोटका स्थानीय यार्सागुम्बा टिप्न हिमाल गएका छन् । बाजुराको बिच्छ्या, दहकोट, रुगिन र बाँधुका सर्वसाधारण पनि लेकतिर हिँडेका छन् ।
सर्वसाधारण सपरिवार यार्सागुम्बा टिप्न गएपछि ती क्षेत्रका विद्यालय बन्द भएका हुन् । गाउँमा अभिभावक र विद्यालयमा शिक्षक तथा विद्यार्थी नभएकाले विद्यालय भर्ना अभियान र पठनपाठन प्रभावित भएको छ । ‘विद्यालयमा भर्ना र पाठ्यपुस्तक लिनका लागि सूचना प्रकाशित गर्‍यौँ,’ काँडा निमाविका शिक्षक गोरखबहादुर बोहराले भने, ‘तर, कोही पनि सम्पर्कमा आएका छैनन् ।’ विद्यालयमा कोही नआएपछि १५ असारदेखि पठनपाठन गर्ने गरी विद्यालय बन्द गरिएको उनले बताए ।
तीन जिल्लाका ८० भन्दा बढी विद्यालय बन्द भएको शिक्षा कार्यालयहरूले जनाएका छन् । ‘शिक्षा नियमावलीअनुसार विद्यालय बन्द नहुनुपर्ने हो,’ बझाङका निमित्त शिक्षा अधिकारी हिक्मतबहादुर सिंहले भने, ‘विद्यार्थी नआएपछि कसरी विद्यालय सञ्चालन गर्ने ?’ वैशाखको तेस्रो सातादेखि असारको आधासम्म यार्सागुम्बा संकलन गर्ने समय हो । गत साल संकलन क्षेत्रमै प्रतिकिलो आठ लाख रुपियाँसम्म यार्सागुम्बा खरिदबिक्री भएको थियो ।
उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा संकलन र बिक्रीबाट आएको पैसाले स्थानीयले वर्षभरिको घरव्यवहार चलाउने गरेका छन् । उत्तरी क्षेत्रमा रहेका साइपाल, अपी, नाम्पा हिमाल आसपासमा पाइने बहुमूल्य यार्सागुम्बा संकलनका लागि बझाङ, दार्चुला र बाजुरा जिल्लाका उच्च भेगमा बसोबास गर्ने तथा अन्य जिल्लाका मानिस त्यसतर्फ जाने गर्छन् ।
यार्सागुम्बा संकलनका लागि तीन जिल्लाका उत्तरी भेगमा बसोबास गर्ने समुदाय घरखेत छोडेर सपरिवार हिमालतिर गएको बझाङ काँडाका खड्क बोहराले बताए । दुई महिनाको अवधिमा यार्सागुम्बा संकलन गरेर कम्तीमा पाँच लाख रुपियाँसम्म आम्दानी गर्ने बोहोराले बताए ।

प्रतिक्रिया