सूचीकृत पाठ्यपुस्तक प्रयोग नगर्नेलाई कारबाही हुने

चितवन, ११ वैशाख । जिल्ला शिक्षा कार्यालय चितवनले पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेबाहेकका पाठ्यपुस्तक प्रयोग गर्ने निजी विद्यालयलाई कारबाही गर्ने भएको छ ।
कार्यालयले सूचना निकालेर केन्द्रले तोकेबाहेकका प्रकाशकका पाठ्यपुस्तक पढाउने विद्यालयलाई कारबाही गर्ने जनाएको हो । कार्यालयले यसअघि नै केन्द्रले सिफारिस गरेभन्दा बाहिरका प्रकाशकका पुस्तक प्रयोग नगर्न सूचना जारी गरेको थियो ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सूचीकरणभन्दा बाहिरका पाठ्यपुस्तक पढाउने विद्यालयमा तत्काल अनुगमन गरी कारबाही गरिने बताए । चितवनका अधिकांश निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तोकेभन्दा बाहिरका प्रकाशकका पाठ्यपुस्तक प्रयोगमा ल्याएका छन् ।
भरतपुरका निजी विद्यालयको संस्था भरतपुर इंग्लिस स्कुल सोसाइटी (बेस) ले जिल्लाका ४२ निजी विद्यालयका लागि अधिकांश पाठ्यपुस्तक सूचीकरण बाहिरका सिफारिस गरेपछि तिनै पाठ्यपुस्तक प्रयोगमा ल्याइएको छ ।
पाठ्यक्रम विकास केन्द्रले सूचीकरणमा नपारेका पाँच पब्लिकेसनका पाठ्यपुस्तक बेसले सिफारिस गरेको छ । सनराइज्स, एसिया पब्लिकेसन, युनिक्स, एभरेस्ट म्याप र केइडिसी पब्लिकेसनका पुस्तक पढाइमा ल्याइएको छ । कक्षा एकदेखि दससम्मका विद्यार्थीका लागि सिफारिस गरिएका अधिकांश पुस्तक यिनै पब्लिकेसनका छन् ।
पाठ्यक्रम विकास केन्द्रले नवीकरण भएका र सूचीकरणमा परेका पाठ्यपुस्तकको विवरण पछिल्लोपटक २ फागुनमा प्रकाशन गरेको थियो । पुन: प्रकाशित सूचनामा परिमार्जन गरेर स्वीकृतिका लागि १८ पब्लिकेसनका पाठ्यपुस्तक सूचीकृत छ । परिमार्जित सूचनामा पनि नपरेका पाँच पब्लिकेसनका पाठ्यपुस्तक चितवनमा पढाइमा ल्याइएको छ । केन्द्रको सूचीकरणमा नपरेका पाठ्यसामग्री प्रयोग गर्ने विद्यालयलाई २५ हजार रुपियाँ जरिवाना वा विद्यालयका प्रिन्सिपललाई ६ महिना कैद अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया