कार्यान्वयन भएन ‘काठमाडौं घोषणा’

काठमाडौं, ११ वैशाख । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले स्वच्छ, सफा, हराभरा र समुन्नत काठमाडौं बनाउने भन्दै विशेष कार्यक्रमका बीच जारी गरेको काठमाडौं घोषणा–०६८ असफल हुने भएको छ । ०६८ जेठ ३० गते सार्वजनिक गरिएको महत्त्वाकांक्षी घोषणा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
कार्यक्रम कार्यान्वयनका लागि छुट्टयाइएको दुई करोड रुपियाँ त्यसै थन्किएको छ । तर, घोषणा कार्यान्वयन हुन नसक्नुमा स्रोतको परिचालन मुख्य समस्या भएको महानगरपालिकाका अधिकारी बताउँछन् ।
काठमाडौंको समग्र विकासका लागि महानगरपालिकाले दैनिक कार्यसम्पादन गर्नुपर्ने र केही दीर्घकालीन योजनाका साथ गर्नुपर्ने काम समावेश गरेर कार्यक्रम घोषणा गरिएको थियो ।
‘कार्यक्रम त घोषणा भयो तर यसको कार्यान्वयनका लागि आर्थिक तथा प्राविधिक व्यवस्थापनमा कमजोरी भएकाले कार्यान्वयनमा लैजान मुस्किल पर्‍यो,’ महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले सौर्यसँग भने ।
घोषणा गरिएको कार्यक्रममा सहरी सुशासन, वातावरण संरक्षण, पूर्वाधार विकास तथा व्यवस्थापन, भवन निर्माण र विपत व्यवस्थापन, महानगरको स्रोत परिचालन तथा सार्वजनिक निजी साझेदारी, सम्पदा, संरक्षण, पर्यटन र संस्कृतिलगायत विविध पक्षमा काम गर्ने उल्लेख गरिएको छ । यसैगरी, कार्यक्रममा खाद्यान्न, सहरीकरण, संस्कृति, कानुन, रात्रि व्यवसाय, बाल सुरक्षा, महिलालगायत क्षेत्रका विभिन्न पक्षमा काम गर्ने उल्लेख छ ।
काठमाडांै घोषणा कार्यान्वयनका लागि सबैभन्दा चुनौती आर्थिक पक्षमा रहेको महानगरपालिकाका अधिकारी बताउँछन् । उनीहरूका अनुसार घोषणामा उल्लेख गरिएका काम महानगरपालिकाले दैनिक गर्नुपर्ने कामभित्रै पर्छन् । तैपनि, विशेष कार्यक्रम गरी घोषणा गरिएको काठमाडांै घोषणा ०६८ कार्यान्वयनतर्फ कुनै काम भएको छैन ।
आर्थिक अभावका कारण अलपत्र परेको भनिए पनि काठमाडौं घोषणा कार्यान्वयनमा चासै नदेखाइएकाले कार्यान्वयनमा आउन नसकेको स्रोतको भनाइ छ । महानगरपालिकाका कार्यकारी अधिकृत गणेश राई हुंदा ल्याएको कार्यक्रम भएकाले कार्यान्वयनमा अहिले चासो नदेखाइएको हो । ‘चासो राखिएको भए नसकिने कुरै थिएन,’ स्रोतले भन्यो, ‘गर्नै नखोजिएको हो ।’
घोषणामा उल्लेख गरिएका कार्यक्रममध्ये १/२ कार्यक्रम मात्र कार्यान्वयनमा आएका छन् । तर, ती महानगरपालिकाका नियमित कामभित्रै पर्छन् । काठमाडौं घोषणा ०६८ मा उल्लेख भएका फोहोर–मैला जताततै नफाल्न सचेतनालगायत केही कार्यक्रम सञ्चालन भएका छन् ।
महानगरपालिकाका कार्यकारी अधिकृत अधिकारीले घोषणामा उल्लेख भएका कार्यक्रममध्ये अधिकांश दीर्घकालीन योजनाअनुसार गर्नुपर्ने बताए । गर्न सकिने काम महानगरपालिकाले गर्दै आइरहेको जानकारी दिँदै उनले भने, ‘रातारात सबै पूरा हुन सक्दैनन् । केही नीतिका कुरा छन्, केही तत्कालै कार्यान्वयनमा ल्याउन सकिने खालका छन् ।’

प्रतिक्रिया