सप्तरी प्रहरी चौकीमा झडप

राजविराज, ११ वैशाख । प्रहरी र गाउँलेबीच सप्तरीको प्रहरी चौकी तरहीमा झडप भएको छ । गएराति भएको झडपका क्रममा प्रहरीसमेत आधा दर्जन गाउँले घाइते भएका छन् ।
दुई पक्षबीचको विवादमा एउटा पक्षलाई नियन्त्रणमा लिएपछि आक्रोशित तरही–८ का दलित मुसहर जातिका व्यक्तिहरूले प्रहरी चौकीमा हमला गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रहरी चौकीको घेराबारमा समेत तोडफोड गरेका छन् ।
तरही–५ का शङ्कर साहको गहुँबालीमा पशु चरेको विषयमा उत्पन्न विवाद मिलाउन छलफलका लागि आरोपित तरही–८ का शिवचन्द्र सदालाई प्रहरीले चौकी ल्याएपछि विवाद बढेको थियो ।
सदालाई चौकी ल्याएको विरोधमा चितरन्जन सदाले प्रहरीलाई जथाभावी गालीगलौज गरेकाका थिए । उनलाई नियन्त्रणमा लिन खोज्दा मुसहर बस्तीका स्थानीयले प्रहरीलाई समेत हातपात गर्दै घेराबारमा तोडफोड गरेको प्रहरीले दाबी छ । झडपका क्रममा केही प्रहरीका पोशाकसमेत च्यातिएको छ ।
शिवचन्द्रलाई पक्राउ गरेको विषयमा जानकारी लिन चौकी आएका चितरन्जनलाई प्रहरीले कुटपिट गरेपछि झडप सुरु भएको सदाको भनाइ छ ।
स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि पातोबाट प्रहरी नायब निरीक्षक शत्रुघन सिंहको नेतृत्वमा एउटा टोली तत्कालै तरही पुगेर स्थिति नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया