एक करोड ६० लाखसँग मोबाइल

काठमाडौं, १० वैशाख । मुलुकको जनसंख्या दुई करोड ६६ लाखमध्ये १ करोड ६० लाखभन्दा बढीको पहुँचमा दूरसञ्चार सेवा पुगेको छ । दूरसञ्चार क्षेत्रमा निजी कम्पनीको आगमनसँगै बढेको प्रतिस्पर्धाका कारण दूरसञ्चारमा पहुँच बढेको हो । घट्दो शुल्क यसको अर्को कारण बनेको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्यामध्ये ६०.३४ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको छ । सेवाप्रदायक कम्पनीहरूले प्राधिकरणलाई उपलब्ध गराएको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् । कुल दूरसञ्चार उपभोक्तामध्ये ५३.३९ प्रतिशत मोबाइलका रहेको तथ्यांक छ ।
कुनैबेला बिलासिताको सेवाका रूपमा लिइने मोबाइलमा अहिले प्रत्येक सयमध्ये ५३ जना नेपालीको पहुँच पुगेको छ । प्राधिकरणले प्रकाशित गरेको प्रतिवेदनअनुसार मुलुकभर एक करोड ४२ लाख १५ हजार ४१ नेपालीसँग अहिले मोबाइल छ । अघिल्लो महिना यो संख्या एक करोड ३८ लाख ४५ हजार चार सय ५० थियो । एक महिनाको अवधिमा तीन लाख ६९ हजार पाँच सय ९१ मोबाइल प्रयोगकर्ता थपिएका छन् ।
मोबाइल प्रयोगकर्तामध्ये सबैभन्दा बढी जिएसएम प्रविधिका छन् । विभिन्न कम्पनीका गरी एक करोड ३३ लाख जिएसएम मोबाइल प्रयोगकर्ता रहेको तथ्यांक छ । सिडिएमएम प्रयोगकर्ता भने आठ लाख ४८ हजार छन् ।
दूरसञ्चार क्षेत्रमा निजी कम्पनीको आगमनसँगै बढेको प्रतिस्पर्धाले शुल्क घटेपछि मोबाइल प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको विज्ञहरू बताउँछन् । यसमा मोबाइल सेटको मूल्यमा आएको उच्च गिरावटले सघाउ पुर्‍याएको छ । मोबाइल प्रयोगकर्ताको संख्यामा भएको वृद्धिले कुल टेलिफोन प्रयोगकर्ताको प्रतिशत पनि बढेको छ ।
मोबाइल सेवामा सरकारी कम्पनी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कुल टेलिफोन प्रयोगकर्ता नेपाल टेलिकमका बढी भए पनि मोबाइलमा एनसेलले उछिनेको छ । टेलिकमका मोबाइल ग्राहक ६७ लाख ५१ हजार नौ सय ७० रहेकामा एनसेलका ७४ लाख ६३ हजार ७१ पुगेका छन् । अघिल्लो महिना यो संख्या क्रमश: ६६ लाख ६७ हजार चार सय ४२ र ७१ लाख ७८ हजार थियो । टेलिकमले जिएसएम र सिडिएमए दुवै प्रविधिमा सेवा प्रदान गरिरहेको छ भने एनसेलले जिएसएममा मात्र सेवा सञ्चालन गरिरहेको छ । सबै प्रविधिका गरी टेलिकमका ग्राहक ७४ लाख ३५ हजार नौ सय २९ पुगेका छन् ।
मोबाइल विस्तार तीव्र गतिमा भए पनि ल्यान्डलाइन टेलिफोनको विस्तार भने निकै सुस्त देखिएको छ । एक महिनामा तीन हजार मात्र ल्यान्डलाइनका उपभोक्ता थपिएका छन् । नेपाल टेलिकम, एसटिएम र स्मार्ट टेलिकमले यो सेवा दिइरहेका छन् । कुल टेलिफोन प्रयोगकर्तामध्ये ३.१८ प्रतिशत ल्यान्डलाइनका छन् ।
एक महिनामा इन्टरनेट प्रयोगकर्ता दुई लाख ४४ हजार  थपिएका छन् । फागुन मसान्तसम्ममा कुल इन्टरनेट प्रयोगकर्ताको संख्या भने ४४ लाख ३७ हजार पुगेको छ । यो नेपालको जनसंख्याको १६.६७ प्रतिशत हो । अघिल्लो महिना ४१ लाख ९३ हजार दुई सय ४३ इन्टरनेट प्रयोगकर्ता थिए ।
इन्टरनेट ग्राहकमा पनि टेलिकम र एनसेलबीच प्रतिस्पर्धा छ । टेलिकमका ४० प्रतिशत र एनसेलका ५७ प्रतिशत इन्टरनेट ग्राहक रहेको प्राधिकरणको तथ्यांक छ । टेलिकमका इन्टरनेट ग्राहक १७ लाख ६८ हजार रहेकामा एनसेलका २५ लाख ३४ हजार पुगेका छन् ।
टेलिफोन सेवाप्रदायकले इन्टरनेट सेवामा पनि जोड दिन थालेपछि इन्टरनेट सेवाप्रदायक (आइएसपी) कम्पनीका ग्राहक भने बढ्न सकेका छैनन् । एक महिनामा टेलिफोन कम्पनीका दुई लाख ४४ हजार इन्टरनेट ग्राहक थपिएकामा आइएसपी कम्पनीले करिब पाँच सय मात्र ग्राहक थपेका छन् । आइएसपीका ग्राहक ६३ हजार चार सय ६० छन् ।
इन्टरनेट प्रयोगकर्तामा पनि सबैभन्दा बढी मोबाइलमा चलाउन मिल्ने जिपिआरएसका छन् । कुल इन्टरनेट प्रयोगकर्तामध्ये ४१ लाख ६९ हजार जिपिआरएसका छन् । एक महिनामा दुई लाख ३८ हजार जिपिआरएस प्रयोगकर्ता थपिएको तथ्यांक छ । द्रुत गतिको एडिएसएलका ग्राहक भने ८१ हजार ६ सय ६१ छन् ।

प्रतिक्रिया