खेलाडी कल्याणकारी कोष स्थापना


काठमाडौं, १० वैशाख । ‘आज अति राम्रो दिन हो किनभने मैले बितेका २० वर्षदेखि उठाउँदै आएको मागले आज औपचारिक सम्बोधन पाएको छ,’ सोमबार बहुप्रतीक्षित ‘खेलाडी कल्याणकारी कोष’ समुद्घाटन कार्यक्रममा ओलम्पियन वैकुण्ठ मानन्धर भन्दै थिए । कोषको स्थापनाबाट खेलाडी र तिनका परिवारले भोकभोकै र उपचार नपाएर मर्नुपर्ने स्थिति अन्त्य हुने विश्वासमा उनी खुसी व्यक्त गर्दै थिए ।
लामो समयको प्रतीक्षापछि अन्तत: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी कल्याणकारी कोषको आइतबार औपचारिक उद्घाटन गर्‍यो । कोषमा राखेपले प्रारम्भिक अवस्थामा १ करोड १० लाख रुपियाँ राखेको छ । केही साताअघि राखेप बोर्डले गरेको निर्णयबमोजिम राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री कमला रोकाले कोषको उद्घाटन गरिन् ।
कोषको उद्घाटनकै दिन उपस्थित सरोकारवालाहरूबीचबाटै १५ लाख ९६ हजार ३ सय ८७ रुपियाँ संकलन भएको छ । त्यसमध्ये मन्त्री रोकाले मन्त्रालयको तर्फबाट १० लाख रुपियाँ प्रदान गरेकी हुन् । थप रकम भने राष्ट्रिय खेल संघ–संस्था, खेलाडी र प्रशिक्षकले प्रदान गरेका हुन् । कार्यक्रम चलिरहेको अवस्थामा त्यसरी सहयोग घोषणा गरेका उनीहरूलाई मन्त्री रोकाले खादा ओडाएर सम्मान गरेकी थिइन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रोकाले खेलाडीभन्दा बाहेक अन्यले यो कोषको प्रयोग गर्न नपाउने बताउँदै कोषले खेलाडीको उत्साह वृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
राखेप सदस्य–सचिव युवराज लामाले खेलमा निरन्तर लामो समयदेखि समर्पित तथा आर्थिक हिसाबले कमजोर खेलाडीले मात्र कोषबाट सहयोग प्राप्त गर्ने स्पष्ट पारे । कोषलाई पारदर्शी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा आउने नेतृत्वले पनि कोषलाई वृद्धि गर्दै लग्नेतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए ।
कोष सञ्चालनका लागि निर्देशिका तयार पारिएको छ । यसअनुसार कोषको अध्यक्ष राखेप सदस्य–सचिव रहने व्यवस्था छ । चाँडै नियमावली तयार गरी यसलाई कार्यान्वयनमा ल्याइने सदस्य–सचिव लामाले जानकारी दिए । कोषमा जम्मा भएको रकमको ब्याज खेलाडी कल्याणमा खर्च हुने बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै ‘विगतमा राखेपले कल्याणकारी कोष भनेर खोले पनि त्यसको अस्तित्व नै क्रमश: हराउने गरेको’ विगत सम्भँmदै धावक मानन्धरले यसलाई व्यवस्थित गर्न सुझाव दिए ।
कार्यक्रममा गैह्रआवासीय नेपाली संघ (एनआरएन) प्रतिनिधि डिबी कार्कीले खेलाडीको वृत्तिविकासका लागि विभिन्न देशमा समन्वय गर्न आफूहरू तयार रहेको बताए । ‘खेलाडी देशका इज्जत हुन् तर उनीहरू सबल हुनुपर्छ,’ उनले भने, ‘यसका लागि राखेप वा सम्बन्धित निकायले विदेशमा खेलाडीको प्रशिक्षण गराउन नसके त्यो जिम्मवारी निर्वाह गर्नका लागि एनआरएन तयार छ । हामीहरू पूर्ण सहयोग गर्छौं ।’
कार्यक्रममा राखेपले खेलाडीलाई अब उप्रान्त प्रदान गर्ने खेलाडी परिचयपत्र सार्वजनिक गरिएको थियो । परिचयपत्रलाई प्लेटिनम, गोल्ड र सिल्भर गरी तीन भागमा वर्गीकरण गरिएको छ । परिचयपत्र वितरणको सुरुआतका क्रममा वैकुण्ठ मानन्धर, जितबहादुर केसी, संगीना वैद्य, दीपक विष्ट, दीपक श्रेष्ठ र दीपक महर्जनलाई मन्त्री रोकाले प्लेटिनम कार्ड प्रदान गरिन् ।

प्रतिक्रिया