काठमाडौं, १० वैशाख । वर्षमा एक हजारभन्दा बढी बालबालिका हराउँछन् । तीमध्ये आधा मात्र भेटिने गरेको तथ्यांक छ । गत साउनदेखि चैतसम्मको नौ महिनाको अवधिमा एक हजार ५२ जना हराएकोमा पाँच सय ३९ बालबालिका अझै फेला परेका छैनन् ।
केन्द्रीय बालकल्याण समितिका अनुसार साउनदेखि चैत २०६८ सम्ममा देशभरबाट हराएका एक हजार ५२ मध्ये पाँच सय १३ बालक र पाँच सय ३९ बालिका छन् । भेटिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइने गरेको समितिले जनाएको छ । अभिभावक फेला नपरे निजी क्षेत्रका बालसंरक्षण गृहहरूमा राख्ने गरिएको छ ।
परिवारले छोराछोरी हराएको उजुरी प्रहरी तथा खोजतलास केन्द्रमा दिने गरे पनि भेटिएको जानकारी भने नगराउँदा भेटिनेको संख्या कम भएको समितिले जनाएको छ । यस अवधिमा बेवारिसे अवस्थामा दुई सय ३० जना फेला परेका छन् । तीमध्ये ६८ जनालाई बालगृहमा राखिएको छ भने एक सय ६२ जनालाई अभिभावकको जिम्मा लगाइएको समितिको तथ्यांकमा उल्लेख छ ।
तीनदेखि चार वर्ष उमेरसमूहका बालबालिका बढी हराउने गरेको केन्द्रका कर्मचारी बताउँछन् । खासगरी पारिवारिक कलह र गरिबीका कारण बालबालिकाले घर छाड्ने गरेको उनीहरूको आशंका छ । केन्द्रका अनुसार बुबाआमाको दिनहुँको झगडाका कारण बालबालिकामा निराशा आउनाले उनीहरू घर छाड्ने निष्कर्षमा पुग्छन् । सहरको प्रभाव र साथीको लहलहैमा पनि बालबालिकाले गाउँ छाड्ने गरेका छन् ।
‘परिवारले पालनपोषण गर्न नसकेको अवस्थामा आफैं कमाउने सोचमा पनि बालबालिकाले घरपरिवार त्याग्छन्,’ केन्द्रका कार्यक्रम अधिकृत रामबहादुर चन्दले सौर्यसँग भने, ‘मुख्य कारणचाहिँ गरिबी नै हो ।’
बालबालिका हराउने क्रम बढ्न थालेपछि खोजी गर्ने उद्देश्यले ०६३ मा सरकारले केन्द्रको स्थापना गरेको थियो । केन्द्रीय बालकल्याण समितिका र प्रहरीका केही कर्मचारी केन्द्रमा कार्यरत छन् । केन्द्रका अनुसार ०६३ देखि हालसम्म चार हजारभन्दा बढी बालबालिका हराएका छन् । ‘बालबालिका हराउँदा अभिभावकलाई आपत पर्छ अनि रिपोर्ट गर्छन्, नभेटिएपछि विस्तारै पीडा कम हुंदै जाँदा फलोअप नै गर्दैनन्,’ चन्दले भने, ‘उपत्यकाभित्र हराएका आधाभन्दा बढी भेटिन्छन् भने बाहिरका ९० प्रतिशत भेटिँदैनन् ।’
अघिल्ला वर्षहरूमा हराएका बालबालिका पछिल्लो वर्ष कति भेटिए भन्ने कुनै तथ्यांक छैन । ‘एकमुष्ट प्रतिवेदन ननिकालेका कारण अघिल्ला वर्षहरूमा हराएका कति भेटिए भन्ने डाटा खुल्न नसकेको हो,’ उनले भने । उनका अनुसार अब विगतमा हराएका बालबालिका कति भेटिए भन्नेबारे अपडेट गर्ने योजना छ ।
प्रतिक्रिया