बिहार गएर फर्किए उपेन्द्र यादव

विराटनगर, १० वैशाख । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सुटुक्क भारतको बिहार गएर फर्किएका छन् ।
गृहनगर विराटनगर आएको मौका पारेर यादव शनिबार सुरक्षाकर्मी र आफ्ना कार्यकर्तालाई समेत जानकारी नदिई जोगबनी नाका हुँदै बिहार गएका हुन् । शनिबार बिहान ८ बजे नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनमा भाग लिएपछि यादव स्थानीय मकालु टेलिभिजनमा अन्तर्वार्ता दिन गएका थिए । त्यसपछि उनी केन्द्रीय सदस्य रामविलास यादवसहित चारजनाको टोली लिएर भारतीय नम्बर प्लेट भएको गाडीमा बिहार गएका थिए ।
बिहान गएका यादव बेलुका साढे ५ बजे काठमाडौं जान सोझै विराटनगर विमानस्थल आइपुगेका थिए । तर, जहाज नभएकाले शनिबार उनी विराटनगरस्थित घरमै बसे । शुक्रबार साँझ विराटनगर आएका उनी बिहार भ्रमणपछि आइतबार बिहान साढे ८ बजे जहाजबाट काठमाडौं फर्किएका हुन् ।
‘अध्यक्षज्यू आफन्त भेटघाटका लागि बिहारको अररिया जानुभएको हो,’ फोरम नेपालका मोरङ सल्लाहकार विपिन कर्णले भने, ‘अरू केही कारण होइन ।’ विराटनगरस्थित रोडशेष चोकमा घर भएका उपेन्द्र यादव यसअघि सुटुक्क भारत जाँदैनथे । यादवले बिहारमा हिन्दुवादी नेतालाई भेटेको अनुमान गरिएको छ । १४ जेठपछि आन्दोलन भएमा सघाउन हिन्दुवादी नेतासँग उनको परामर्श भएको आशंका गरिएको छ । शनिबार भएको पत्रकार सम्मेलनमा यादवले संघीयतामा स्वायत्तता नभए आन्दोलन चर्काउने बताएका
थिए । यादव भारत किन र कतिखेर गए नेपालको सुरक्षा निकायले पनि पत्तो पाएन ।

प्रतिक्रिया