राखेपविरुद्ध छानबिनको माग

विराटनगर : सुदूरपश्चिमको धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले व्यापक भ्रष्टाचार गरेको भन्दै छानबिनको माग गरिएको छ ।
यसरी छानबिनको माग गर्नेमा खेलकुद मन्त्रालय सम्हालेको माओवादीको भ्रातृसंस्था गणतान्त्रिक खेलकुद महासंघ कोचिला राज्य समिति रहेको छ । समितिले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामासहितले भ्रष्टाचार गरेको भन्दै छानबिन माग गरेको हो ।
‘खेलमैदान मर्मतसंभार, खेलाडीको खाने र बस्ने व्यवस्था, खेलकुद सामग्री खरिद, औषधि खर्चलगायतका शीर्षकमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले फर्जी बिल बनाएर भ्रष्टाचार गरेका छन्,’ गणतान्त्रिक खेलकुद महासंघ कोचिला राज्य समितिका संयोजक ध्रुव थापाले भने । खेलकुद मन्त्रालयबाट प्रतियोगिता सञ्चालनका लागि २२ करोड ५० लाख रुपियाँ निकासा भए पनि खेलकुद परिषद्ले गर्दै नगरेको र किन्दै नकिनेका खेलकुद सामग्रीको नाममा पनि बिल बनाएर भ्रष्टाचार गरिएको दाबी थापाको छ ।
पदाधिकारीले खेलमैदान मर्मतमा ४० लाख रुपियाँ खर्च गरेर ६ करोड ७ लाख रुपियाँ खर्च भएको बिल बनाएका छन् । आवास तथा भोजनको नाममा ३ करोड रुपियाँको बिल बनाइएको उल्लेख छ । खेलकुद सामग्री र सामान्य खर्चमा ६० लाख रुपियाँ खर्च देखाइएको छ । प्रतियोगितामा दुई लाख रुपियाँको औषधि खर्चले पुग्दै आएकोमा सम्पन्न खेलकुदमा ७७ लाख रुपियाँको बिल पेस गरिएको गणतान्त्रिक खेलकुद महासंघ कोचिला समितिले जनाएको छ । संयोजक थापाले भने, ‘दोषीलाई कारबाही गरिनुपर्छ । (सौस)

प्रतिक्रिया