पैसा तिर्न नसक्दा अस्पतालमै

विराटनगर, १० वैशाख । एकातिर ठक्कर दिने सवारीसाधन पत्ता नलाग्नु, अर्कातिर अस्पतालको पैसा तिर्न नसकेर बिचल्ली पर्नु । मोरङ उर्लाबारी–४ स्कुलडाँडाका २४ वर्षीय सुरज वस्ती अस्पतालले डिस्चार्ज गरेको १५ दिन नाघ्दा पनि घर फर्कन पाएका छैनन् ।
२८ माघमा घरबाट पसलको साँचो पुर्‍याउन गएका वस्तीलाई सवारीसाधनले पछाडिबाट ठक्कर दिएर घाइते बनाएको हो । उनी घाइतेमात्र भएनन्, विराटनगरस्थित न्युरो अस्पतालमा झन्डै ४० दिन बेहोस भएर लडे । करिब एक महिनाअघि होसमा आएका वस्ती अहिले तोते बोल्न सक्ने भएका छन् ।
‘अस्पताललाई दुई लाख रुपियाँ र औषधि पसललाई ८० हजार रुपियाँ तिर्न बाँकी छ,’ दाजु प्रकाशले भने, ‘पैसा तिर्न नसकेपछि भाइलाई घर लैजान पाएका छैनौँ ।’ भाइको उपचारमा चार लाख रुपियाँ खर्च भएको उनले बताए ।
नौ दिन आइसियुमा राखेर उपचार गरिएका वस्तीलाई पछि पोस्टवार्डमा राखिएको थियो । टाउको र मस्तिष्कमा चोट लागेका वस्तीको घाँटीको पनि उपचार गरिएको अस्पतालका प्रशासन प्रमुख विपुल श्रेष्ठले बताए ।
परिवारले सम्पत्तिका नाममा रहेको एक कठ्ठा घडेरी बन्धकी राखेर ऋण खोजेर छोराको उपचार गराएका हुन् । अस्पतालले शुल्क नतिरी घर लैजान नदिएपछि केही मनकारी स्थानीयले चन्दा संकलन सुरु गरेका छन् । ‘त्यत्रो पैसा कसरी जुट्ला र ?’ बाबु रामप्रसादले भने, ‘दुर्घटना गराउने सवारीसाधनले पनि उन्मुक्ति पाइरहेको छ, प्रहरीले पत्ता लगाउनै सकेन ।’
उपचार खर्च मिनाहा गर्न जिल्ला प्रशासन कार्यालय मोरङ र जनस्वास्थ्य कार्यालयलाई पहल गरिदिन पत्राचार गरेपछि जनस्वास्थ्यले २१ चैतमा नि:शुल्क उपचार गरिदिन अस्पताललाई पत्र लेखेको थियो । तर, अस्पतालले उपचार शुल्क मिनाहा गर्न नमानेपछि वस्ती अस्पतालमै बिचल्लीमा परेका हुन् ।

प्रतिक्रिया