त्रिविका विभागीय प्रमुखमाथि कारबाही

काठमाडौं, १० वैशाख । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले परीक्षामा लापरबाही गरेको भन्दै विभागीय प्रमुखलाई नै कारबाही गरेको छ । प्रश्नपत्र निर्माणमा लापरबाही गरेको अभियोगमा मानविकी संकायको अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रुद्र उपाध्यायलाई आगामी दिनमा परीक्षामा सहभागीसमेत हुन नपाउने गरी कारबाही गरिएको हो ।
त्रिविले परीक्षामा लापरबाही गरेको अभियोगमा वरिष्ठ प्राध्यापकलाई कारबाही गरेको यो पहिलोपटक हो । गत २२ साउनमा भएको मानविकी संकायको स्नातकोत्तर तह प्रथम वर्षको माइक्रो इकोनोमिक्स एनालाइसिस विषयको प्रश्नपत्र निर्माणमा उपाध्यायले चरम लापरबाही गरेको पनिकाको ठहर छ । परीक्षा भएको करिब एक वर्षपछि उनलाई कारबाही गरिएको हो ।
विभागीय प्रमुख उपाध्याय मोडरेसन बोर्डका अध्यक्षसमेत हुन् । उनले प्रश्नपत्र निर्माणकर्ताले दिएको प्रश्नपत्र छपाइ गर्नुअघि ‘ठीक छ’ भनेर हस्ताक्षर गरेका थिए तर परीक्षापछि तिनै विभागीय प्रमुख उपाध्यायले प्रश्नपत्रमा ४० अंकको प्रश्न पाठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै पनिकामा पत्र नै पठाएका थिए । अझ, आन्दोलनमा उत्रिएका विद्यार्थीलाई साथ दिँदै उनले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयलाई उल्टै दबाबसमेत दिएका थिए ।
स्रोतका अनुसार विभागीय प्रमुख उपाध्यायले आफूले गरेको गल्ती अर्काको टाउकामा हाल्न माओवादीनिकट विद्यार्थी, त्रिविका कर्मचारी र पदाधिकारीमार्फत पनिकाका अधिकारीलाई दबाबसमेत दिने गरेका थिए ।
विभागीय प्रमुख उपाध्यायले ‘सदर’ गरेको माइक्रो इकोनोमिक्स एनालाइसिस विषयको प्रश्नपत्रमा २० नम्बरको एउटा र १० नम्बरका दुई प्रश्न पाठ्यक्रमभन्दा बाहिरबाट राखिएका थिए । सो विषयको परीक्षा उपत्यका र बाहिर गरी दुई केन्द्रमा बिथोलिएको थियो । विद्यार्थीहरू आन्दोलनमै उत्रिएका थिए ।
‘आफैँले प्रश्नपत्र परिष्कृत गरेर ठीक छ भनी हस्ताक्षर गर्ने अनि पाठ्यक्रमबाहिरको प्रश्न आयो भनेर विद्यार्थीसँगै बल्खुमा आन्दोलन गर्न पटक–पटक आएपछि विभागीय प्रमुखलाई कारबाही गरिएको हो,’ पनिकाका एक अधिकारीले भने । कारबाही गर्नुअघि पनिकाले उपाध्यायसित स्पष्टीकरण सोधेको थियो । उपाध्यायले विभागीय प्रमुखको दायित्व निर्वाह गर्न नसकेको पनिकाको ठहर छ ।
पनिकाका अनुसार उपाध्यायलाई एक वर्षसम्म परीक्षाका कुनै पनि काममा सहभागी हुन नपाउने गरी कारबाही गरिएको हो । उनलाई चार वर्षसम्मको कारबाही गर्ने अधिकार पनिकासित थियो । पनिकाको कारबाहीपछि पनि उपाध्यायले विभागीय प्रमुखको जिम्मेवारी नछाडेपछि त्रिविले उनलाई शिक्षाध्यक्षको कार्यालयमा हाजिर गराएको छ ।
त्रिविमा विभागीय प्रमुख विषय समितिको अध्यक्षसमेत रहने व्यवस्था छ । विभागीय प्रमुख मोडरेसनको आफैं विज्ञ हुनुपर्छ । त्यसो नभएमा उसले विश्वासिलो व्यक्तिको सहयोग लिन सक्ने व्यवस्था छ । उपाध्यायले पनि सहयोगीका साथ बल्खु पुगेर प्रश्नपत्र मोडरेसन गरेका थिए ।
विभागीय प्रमुख उपाध्यायले स्पष्टीकरणसमेत नसोधी पनिकाले एकैचोटि आफूलाई कारबाही गरेको दाबी गरे । ‘मैले विद्यार्थीको परीक्षा पुन: गर्नुपर्छ भनी लेखेर दिएको हुँ,’ उनले भने । प्रश्नपत्रबारे सबैकुरा आफूलाई थाहा नहुने बताउँदै उनले विज्ञले तयार गरेको प्रश्नपत्रमा आफूले सही मात्रै गरेको बताए । ‘विषयविज्ञले प्रश्नपत्र बनाउने हो, सबै कुरा मलाई थाहा हुँदैन, विज्ञले बनाएपछि नै मैले सही गरेको हुँ,’ उनले भने ।

प्रतिक्रिया