रकम पचाउने को हो ?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री भीम रावलले साढे दुई वर्षअघि नेपालगन्जको एक होटलमा खाए/बसेको बिलको भुक्तानी अहिलेसम्म भएको छैन । हेर्दा सामान्य लाग्ने यस घटनाले सिंहदरबारभित्रका स्वकीय सचिवालयहरूको मनपरीलाई प्रस्ट्याउँछ । प्रधानमन्त्री र गृहमन्त्रीले जहाँ गयो होटलका बिल तिरेर हिँड्ने वा हिसाबकिताब राख्ने कुरा हुँदैन । यो सबै स्वकीय सचिव र सचिवालयहरूको काम हो । स्वकीय सचिव र सहयोगीहरू इमानदार भएनन् भने पदमा बसेका नेताको छविमा कस्तो दाग लाग्छ भन्ने
कुरा स्नेहा होटलमा बाँकी रहेको बिलले देखाउँछ । प्रधानमन्त्री कार्यालयबाट भुक्तानी लिएर पचाउने ती स्वकीय कर्मचारीकै कारण आज नेपाल र रावलजस्ता नेता मामुली रकम काण्डमा मुछिन पुगेका हुन् ।
स्वकीय सचिवालयका कर्मचारी नियुक्त गर्दा सावधानी नअपनाउने र आफन्तहरूलाई ठाउँ दिने प्रवृत्तिकै उपज हो सो घटना । साथै, मुलुकको शासकीय वृत्तमा कस्तो प्रवृत्ति मौलाउँदै छ भन्ने यो एउटा उदाहरण पनि हो । तत्कालीन प्रधानमन्त्री नेपाल र गृहमन्त्री रावल दुवैले खाए/बसेको जम्मा ६८ हजार आठ सय ३२ रुपियाँको बिल उठेको थियो । रकम त्यति धेरै होइन तर लामो समय बितिसक्दा पनि बिलको भुक्तानी नहुनु आफैँमा निन्दनीय हो । राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री र मुलुक हाँक्ने गृहमन्त्रीले खाए/बसेको होटलको रकम किन तिरिएन ? होटलले बारम्बार ताकेता गर्दा पनि किन भुक्तानी पाएन ? प्रश्न उठ्नु स्वाभाविक हो । सरकारी कोषबाट ती दुवै भ्रमणको रकम भुक्तानी भएको देखिएको छ । त्यसो भए उक्त रकम कहाँ गयो र कसले हिनामिना गर्‍यो ? स्वाभाविक रूपले यो खोजीको विषय बनेको छ । प्रधानमन्त्री कार्यालयको आर्थिक शाखाले भ्रमणमा भएको बिलअनुसारको रकम स्वकीय सचिवालयका कर्मचारीलाई बुझाउने चलन छ । साढे दुई वर्षअघि पनि स्नेहा होटलको बिलअनुसारको रकम स्वकीय सचिवालयका कर्मचारीले बुझेका थिए । त्यसो भए उक्त होटललाई रकम किन तिरिएन ? यसको जवाफ सम्बन्धित सबै पक्षले दिन सक्नुपर्छ । बिल भर्पाइमा सही गरेर रकम बुझ्ने कर्मचारी को थियो, छानबिन हुनुपर्छ । अनियमितता गर्ने त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिनुपर्छ । यसो गरिएमा स्वकीय सचिवालयभित्र अनियमितता गर्नेहरू निरुत्साहित हुनेछन् ।
स्वकीय सचिवालयमा ‘राम्रा’भन्दा’ हाम्रा’लाई भित्र्याउने चलन छ । यसले गर्दा पनि त्यहाँभित्र यस्ता अस्वाभाविक र अमर्यादित कार्य हुने गर्छन् । नियतमा खोट भएका स्वकीय सचिवालयका कर्मचारी आफू त बदनाम हुन्छन् नै, प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत बदनाम गराउँछन् । यसतर्फ सचेत हुन जरुरी छ । भ्रमणको खर्च बुझ्ने स्वकीय सचिवालयको व्यक्ति पहिचान गरी उसलाई कारबाही नगर्ने हो भने खोटो नियत बोकेकाहरू उत्साहित हुनेछन् ।

प्रतिक्रिया