बहुउद्देश्यीय केन्द्रीय संघ दर्ता अन्योलमा

काठमाडौं, ९ वैशाख । बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ दर्ता अझै अन्योलमा छ । सात महिनादेखि दर्ता प्रक्रिया सुरु गरेको केन्द्रीय संघले अहिलेसम्म पनि दर्ता प्रमाणपत्र पाउन सकेको      छैन ।
केही महिनाअघि संघदर्तामा आलटाल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल सहकारी विभागबाट लिएको थियो । अख्तियारले छानबिन गरी दर्ता गर्न मिल्ने कानुनी प्रावधान रहेको भन्दै तत्काल यसबारे टुंगो लगाउन केही समयअघि नै विभागलाई निर्देशन दिएको थियो ।
तत्कालीन रजिस्ट्रार सुर्दशनप्रसाद ढकाल हुँदा अख्तियारले फाइल फिर्ता गरेको थियो तापनि सो फाइल दर्ता नै नगरी ढकाल सरुवा भएको स्रोतले जनाएको छ । ढकाल केही दिनअघि सरुवा भई वैदेशिक रोजगार विभाग गएका छन् । ढकालले सार्वजनिक रूपमै २९ माघमा दर्ता प्रमाणपत्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए तर उनले दिएको बचन पूरा नभएको बहुउद्देश्यीय सहकारीकर्मीको आरोप छ । सहकारी ऐनमा दर्ता गर्न सम्पूर्ण अधिकार रजिस्ट्रारको हुन्छ । यसबारे कृषि तथा सहकारी मन्त्रालय पनि अधिकार विहीन छ । मन्त्रालयले यसबारे टुंगो लगाउन निर्देशनसमेत दिइसकेको छ ।
विभाग हाल रजिस्ट्रारविहीन छ । रजिस्ट्रारको जिम्मेवारी सम्हाल्ने अधिकार पाएका उपरजिस्ट्रार गोपीकृष्ण निरौला विगत तीन महिनादेखि बिदामा रहको विभागले जनाएको छ । विभागमा हुने दैनिक कामकाज अहिले पनि ठप्पप्रायः छ । नयाँ रजिस्ट्रार अझै नियुक्त गरिएको छैन । मन्त्रालयले यसबारे काम सुरु गरेको बताइएको छ ।
‘प्रक्रिया पुर्‍याई संघ दर्ता गर्नका लागि ३ असोज ०६८ मा विभागमा फाइल पेस गरको थियौँ,’ प्रस्तावित नेपाल बहुउदेश्यीय केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले भने, कानुनी रूपमा दर्ताका लागि प्रस्ट रहेकाले अख्तियारले दर्ता गर्न निर्देशन दिए पनि विभागले अझै गरेको छैन । अन्य केन्द्रीय संघजस्तै बहुउद्देश्यीय सहकारीको पनि छाता संस्था स्थापना हुनुपर्छ भनेर सो संघ दर्ता प्रक्रियामा आएको उनले बताए । मुलुकभर अहिले चार हजार तीन सय बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा छन् ।
‘नयाँ रजिस्ट्रार आएपछि दर्ता हुनेमा हामी प्रतिबद्ध छाँ,’ जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले भने, ‘संघ दर्ता जसरी भए पनि हुन्छ ।’ सहकारीमा राजनीति घुसेकाले यस्तो समस्या उत्पन्न भएको उनको भनाइ छ । यसैबीच १० जिल्लामा बहुउद्देश्यीय तदर्थ जिल्ला संघसमेत गठन भइसकेको केन्द्रीय संघले जनाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ, नुवाकोट, मकवानपुर, रसुवामा जिल्ला संघ गठन भएका छन् ।
वाषिर्क कारोबारमा बचत तथा ऋण सहकारी संस्थापछिको दोस्रो स्थानमा बहुउद्देश्यीय सहकारीका संस्था पर्दछन् । जसको  वाषिर्क कारोबार ३० अर्बभन्दा बढी छ । यसमा १० लाख सदस्य छन् । ४८ प्रतिशतभन्दा बढी महिलाको सहभागिता बहुउद्देश्यीय सहकारीमा छ । यी सहकारी संस्था बचत तथा ऋण परिचालन, पसल, कृषि तथा पशु पालन व्यवसाय, सामुदायिक स्वास्थ्य सेवा, साना तथा घरेलु उद्योगव्यवसाय, सीप विकास र सामाजिक काम गर्ने उद्देश्य राखी सञ्चालन रहेका छन् ।

प्रतिक्रिया