‘६३ वर्ष पार गर्दा मुलुकको प्रमुख शक्ति’

काठमाडौं, एमाले अध्यक्ष झलनाथ खनालले शान्तिप्रक्रियालाई पूर्णतामा पुर्‍याउन र नया संविधान जारी गर्न प्रमुख दल एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६३ वर्ष पूरा भएको सन्दर्भमा शनिबार विज्ञप्तिमार्फत अध्यक्ष खनालले १४ जेठभित्र शान्ति र संविधानको कार्यभार पूरा गरी मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउनुपर्ने उल्लेख गरेका हुन् ।
खनालले ६३ वर्ष पार गर्दा कम्युनिस्ट पार्टी मुलुकको प्रमुख शक्ति भएको उल्लेख गरेका छन् । त्यस अवसरमा उनले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहित अन्य संस्थापकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले एक मात्र जीवित संस्थापक नरबहादुर कर्माचार्यको दीर्घायुको कामना पनि गरेका छन् ।
पुष्पलालको नेतृत्वमा १० वैशाख २००६ मा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । संस्थापकहरूमध्ये श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठको निधन भइसकेको छ । (सौस)

प्रतिक्रिया