बदलियो यौन प्रवृत्ति

काठमाडौं, ९ वैशाख ।  दुई वर्ष लगाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको किशोरकिशोरी तथा युवा सर्वोक्षणले नेपाली समाजको यौन प्रवृत्तिमा व्यापक परिवर्तन भएको देखाएको छ ।
सर्वेक्षणले १२ दशमलव ९८ प्रतिशत नेपालीले विवाहअगाडि यौनसम्पर्क गरिसकेको देखाएको हो । विवाहअगाडिको यौनसम्पर्कमा महिलाको तुलनामा पुरुष धेरै अगाडि रहेको पनि अध्ययनको निष्कर्ष छ । अध्ययन प्रतिवेदनअनुसार विवाहअगाडि २३ दशमलव ०४ प्रतिशत पुरुषले यौनसम्पर्क राखेको र महिलाको हकमा  भने यो प्रतिशत जम्मा तीन दशमलव ६६ प्रतिशत छ ।
मन्त्रालयले देशका सबै भागको प्रतिनिधित्व गर्नेगरी १० देखि २४ वर्ष उमेर समूहका करिब नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोरकिशोरी तथा युवाको सर्वेक्षण गरेको थियो । किशोरकिशोरी तथा युवाको यौन क्रियाकलाप उपशीर्षकमा उल्लेख भएअनुसार ती उमेर समूहका ४४ दशमलव १७ प्रतिशतले यौनसम्पर्क गरिसकेका छन् । यसमा विवाहित र अविवाहित दुवै सहभागी छन् । ‘यौनसम्पर्क राख्नेमा पुरुषभन्दा महिला बढी  छन्’ प्रतिवेदनमा उल्लेख छ, ‘पुरुषको तुलनामा महिलाको विवाह चाडो हुने भएकाले यो संख्या बढी भएको हो ।’ प्रतिवेदनअनुसार २४ वर्षमुनिका ४९ दशमलव ४९ प्रतिशत महिला र ३८ दशमलव ०१ प्रतिशत पुरुषले यौनसम्पर्क राखिसकेका छन् ।
सर्वेक्षणले ६२ दशमलव ५८ प्रतिशतले हस्तमैथुन गर्ने गरेको जनाएको छ, जसमा ८० दशमलव १९ प्रतिशत पुरुष र २८ दशमलव ४२ प्रतिशत महिला छन् । त्यस्तै ५१ दशमलव २३ प्रतिशतले यौनसन्तुष्टिका लागि चुम्मा खाने गरेको, ५१ दशमलव ०८ प्रतिशतले अगालो मारेर यौनसन्तुष्टि लिने गरेको, ४८ दशमलव ५५ प्रतिशतले शरीरका संवेदनशील अंगमा छुने गरेको देखाएको छ ।
संवेदनशील अंगमा छुनेमा पुरुषको तुलनामा महिलाको प्रतिशत बढी रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार ४९ दशमलव २६ प्रतिशत महिलाले पुरुषको संवेदनशील अंगमा छुने गरेका छन् जबकि पुरुषको हकमा भने यो प्रतिशत ४७ दशमलव ७५ प्रतिशत  छ । यौनसम्पर्कका क्रममा मुखमैथुन गर्नेमा ७ दशमलव ५४ प्रतिशत छन्, जसमा महिलाको प्रतिशत ७ दशमलव ९ प्रतिशत रहेको छ भने पुरुषको प्रतिशत ७ दशमलव २३  छ । यस्तै गुदद्वार सम्पर्कमा ४ दशमलव ८१ प्रतिशत सहभागी भएको समेत सर्वेक्षणले देखाएको छ ।
यसैगरी, सर्वेक्षणले किशोरकिशोरीको प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको र प्रेम मनोरञ्जनका लागि पनि भएको समेत देखाएको छ तर किशोरकिशोरी प्रेमविवाहमै आकर्षित भएको सर्वोक्षणले देखाएको छ । ७२ प्रतिशतले प्रेमविवाहमा र ५३ प्रतिशत मागीविवाहमा रुचि देखाएको सर्वोक्षणको नतिजा छ । विवाह नगरी सगै जीवनयापन गर्ने किशोरकिशोरी तथा युवाको प्रतिशत १५ रहेको देखिएको छ । ती उमेर समूहका ९२ प्रतिशत किशोर तथा ७७ प्रतिशत किशोरी अविवाहित रहेको सर्वोक्षणले देखाएको छ । सर्वोक्षणले विवाहित भएकामा पनि पहिलो बच्चा जन्माउदा औसत उमेर १९ बर्ष देखाएको छ ।

प्रतिक्रिया