थारु गोलमेच सम्मेलनमा बहुप्रदेशमा जोड

चितवन, ९ वैशाख । चितवनमा शुक्रबारदेखि चलेको थारु जातिसंग सम्बन्धित विभिन्न संघ संगठन र राजनीतिक दलहरुको गोलमेच सम्मेलनमा बोल्ने अधिकांश नेताहरुले तराईमा बहुप्रदेश हुनु पर्नेमा जोड दिएका छन् ।
राज्य पुनर्संरचनामा थारु समुदायको एकै धारणा बनाउन भेला भएका १२ वटा संगठनका प्रतिनिधिले भेलामा आफना कुरा राख्दै तराई एउटै प्रदेश बनाउन नहुने धारणा राखेका हुन् । तराईलाई थारुहट तराई प्रदेश भन्नु पर्ने र एक भन्दा बढि प्रदेश हुनु पर्नेमा सहभागीले जोड दिएको आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिए ।
पहिचान सहितको थरुहट तराई प्रदेशको सीमाङ्कन, नक्साङ्कन र थारु जातीको हक र अधिकारको सवालमा भेला छलफल भएको र भेलाले  महत्वपूर्ण निर्णय गर्ने थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारुले बताए ।
सम्मेलनमा सहभागी ७० प्रतिशत थारुहरु तराई बहुप्रदेश कै पक्षमा उभिएका छन् । तराईका २२ जिल्लाका करिव २ सय थारु प्रतिनिधि भावी संविधानमा भविष्य सुनिश्चित गर्न सम्मेलनमा सहभागी रहेका थिए ।

प्रतिक्रिया