‘संविधान जारी गर्दासम्म यहि सरकार राखौं’

काठमाडौं, ९ वैशाख । एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बर्तमान सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिनुपर्ने निष्कर्षमा पुगेका छन् ।

उनीहरुले नयाँ संविधान जारी नगर्दासम्म सरकार यहि सरकारलाई नै निरन्तरता दिनुपर्ने सहमति गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाओवादी मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले बाबुराम भट्टराई नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने निष्कर्षमा पुगेको मधेसी जनअधिकार फोरम गणतान्त्रिका कार्यवाहक अध्यक्ष एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।

उनले भने, ‘बाबुराम भट्टराई नेतृत्वकै बर्तमान सरकारलाई संविधान जारी नगर्दासम्म निरन्तरता दिने सहमति भएको छ ।’

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै मन्त्री यादवले संविधानका बिवादित बिषय र सरकार गठनका क्रममा भएका सहमति कार्यान्वनय लगायतमा छलफल भएको बताए ।

संविधानका बिवादित बिषय राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्यायप्रणाली लगायतमा राजनीतिक परामर्श गर्दै आएको एमाओवादीले बिहान मात्रै कांग्रेससँग छलफल गरेको थियो ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई तथा मधेसी मोर्चाका प्रमुख नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया