जेपीको कुर्सीमा बस्नुअघि ग्रहशान्ति

काठमाडौं, ८ वैशाख । आफ्नै पार्टीका अध्यक्ष तथा निवर्तमान सञ्चारमन्त्री जेपी गुप्ता ‘ग्रहदशा’ले घेरिएर जेल जानुपरेको निष्कर्ष निकाल्दै नवनियुक्त सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले आफ्नो ग्रहशान्ति गराएका छन् । भ्रष्टाचारको अभियोगमा गुप्ता जेल गएपछि मन्त्री पद पाएका यादवले गुप्ताझै ग्रहदशाले सताइएर जेल जानु नपरोस् भन्दै ‘ग्रहशान्ति’ गरेका हुन् ।
धर्मकर्म र ज्योतिषशास्त्रमा निकै विश्वास गर्ने मन्त्री यादवले पदभार ग्रहण गर्नुअघि मन्त्रालयमै ज्योतिषीलाई बोलाएर ‘ग्रहशान्ति’ गराएका हुन् । ज्योतिषी नारायणप्रसाद कोइरालाको सल्लाहअनुसार उनले आºनो कार्यकक्षको साजसज्जासमेत गर्न लगाए । गत २७ चैतमा मन्त्री यादवले ज्योतिषी कोइरालालाई मन्त्रालयमा बोलाएर ‘ग्रहशान्ति’ गराएका हुन् । कोइरालाले यादवको कार्यकक्षमा वैदिकमन्त्र पढ्नुका साथै पूजापाठ पनि गरे ।
ज्योतिषीहरूले यादवलाई शनि शान्त भए आगामी दिन फलिफाप हुने बताएका छन् । ज्योतिषी कोइरालाका अनुसार मन्त्री यादवलाई शनि ग्रहले छोएको छ, उनी आफ्नो कार्यकक्षमा पश्चिम दिशामा बस्नु हानिकारक हुन सक्छ । कोइरालाकै सल्लाहअनुसार यादवले आफू बस्ने कुर्सी र टेबुल पूर्व दिशामा राख्न लगाएका छन् । उनीभन्दा अघिल्ला सञ्चारमन्त्री गुप्ताको टेबुल कुर्सी कार्यकक्षको पश्चिमपट्टि थियो । नवनियुक्त मन्त्री यादव पश्चिममै बसे ग्रहदशाले सताउने सुझाब ज्योतिषी कोइरालाले दिएका थिए । ‘ग्रहशान्ति’ गरेपछि २८ चैतमा मात्रै यादव आफ्नो कुर्सीमा बसे ।
‘मलाई मन्त्रीज्यूले बोलाएपछि उहाको जन्म, लग्न, राशि र उहा बस्ने कोठा हेर्दा दिशा बदलेर पूर्वतिर बस्न सल्लाह दिए । मन्त्रीज्यूलाई वैदिकमन्त्र सुनाउनुका साथै पूजापाठ पनि गरे । त्यसपछि मात्रै उहा मन्त्रीको कुर्सीमा बस्नुभयो,’ कोइरालाले सौर्यसग भने ।
त्यसो त सञ्चारमन्त्री यादव सभासद् भएदेखि नै हरेक काम गर्दा ज्योतिषीको सल्लाह लिने गर्छन् । शनि शान्त गर्न मन्त्री हुनुभन्दा १५ दिनअघि उनले पण्डितहरूलाई कोटेश्वरस्थित निवासमा बोलाएर २७ हजार मन्त्रजप पनि गराएका थिए । त्यसपछि मात्रै उनी ‘मन्त्री हुन्छु’ भन्नेमा ढुक्क भएको उनीनिकट स्रोतले बतायो । ‘मन्त्री हुनुभन्दा १५ दिनअघि नै मैले ‘तपाईं मन्त्री हुनुहुदै छ’ भनेर ठोकुवा गरेको थिए । आखिर मन्त्री हुनुभयो,’ ज्योतिषी कोइरालाले भने ।
कोइरालाका अनुसार उनीसग सल्लाह माग्न सभासद् र मन्त्रीहरू पनि आउने गर्छन् । उनकै सल्लाहअनुसार सञ्चार राज्यमन्त्री सुरिता साहले पनि कार्यकक्षमा आफू बस्ने दिशा परिवर्तन गरेकी छन् । यसअघि पश्चिम फर्केर बस्ने साह अहिले पूर्व दिशातर्फ बस्न थालेकी छन् । ज्योतिषी कोइरालाले अहिले पनि बेला–बेलामा सञ्चार मन्त्रालय गएर मन्त्रीहरूलाई वैदिकमन्त्र सुनाउनुका साथै सामान्य पूजापाठ गर्ने गरेको बताए ।
ग्रहशान्ति गरेको विषयमा मन्त्री यादव भने बोल्न चाहेनन् । उनले त्यसलाई आफ्नो ‘निजी विषय’ बताए । ‘म कुन धर्म मान्छु, ज्योतिषीलाई मान्छु कि मान्दिन, ती सब मेरा निजी विषय हुन्, यसमा तपाईंहरू चासो नराख्नुस् । शान्ति र संविधानका विषयमा तपार्इंहरू कुरा उठाउनुस्, यस्ता विषयमा नउठाउनुस्,’ मन्त्री यादवले सौर्यसग भने ।

प्रतिक्रिया