‘मधेसी मोर्चालाई उछिन्दैछ, उपेन्द्र यादवको दबाव मोर्चा’

काठमाडौं, ८ वैशाख । नयाँ संविधानमा आफ्ना हक अधिकार समावेश गराउन केन्द्रिकृत भएका मधेसवादी लगायत अन्य दलका सभासद र नेताहरुले आन्दोलन सशक्त बनाउन तीन सदस्सीय कार्यदल बनाएका छन् ।

बृहत दबाव मधेसी मोर्चा गठन गरेका उनीहरुको आज राजधानीमा बसेको बैठकले मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्सीय अर्को कार्यदल बनाएका छन् ।

कार्यदलले दबाव मोर्चाको कार्यविधि, प्रकृया, आचार संहिता लगायतका बिषयमा मस्यौदा प्रस्ताव बनाउने फोरम लोकतान्त्रिकका नेता शरतसिंह भण्डारीले जानकारी दिनु भयो ।

कार्यदलमा सद्भावना आनन्दी देवीकी अध्यक्ष सरिता गिरी र एमालेबाट गोपाल ठाकुर सदस्य छन् । कार्यदलले सडक र संविधानसभामा आफ्ना माग कसरी अघि बढाउने तथा दबाव मोर्चाको आचार संहिता के के बनाउने भन्ने बारेमा छलफल गर्ने छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई ओझेलमा पारेर आफ्ना गतिविधि अगाडि बढाएको दबाव मोर्चाले पछिल्लो समयमा दैनिक सरह बैठक तथा छलफल गर्दै आएको छ ।

मधेसी मोर्चामा नरहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चालाई मात दिने गरेर संविधानसभाका सबै दलमा आबद्ध मधेसवादी दलका सभासदलाई केन्द्रित गरेका छन् ।

आफ्नै पहलमा मधेसी मोर्चाका नेता तथा सभासदलाई गोलबन्द गरेका यादवले मधेसका मुद्धा मधेसी मोर्चाले भन्दा जोडार रुपमा उठाउने योजनाका साथ लागेका छन् ।

मधेस आन्दोलन चर्काए एकाएक शिखरमा पुगेका यादव नेतृत्वकै पार्टी फोरम नेपालको योगदानका कारण हालका मधेसवादी दलहरु सत्ता र सत्ताबाहिर अस्तित्वमा छन् ।

प्रतिक्रिया