अराजकता प्रदर्शन गर्नेलाई छुट दिन्नः दाहाल

काठमाडौं, ८ वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको एकता र नीतिविरुद्ध गएर अराजकता प्रदर्शन गर्नेहरुलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिएका छन् ।

बुद्धिजीवी विशेष जिल्ला समितिले आज राजधानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले पार्टीले आफ्नो लक्ष्य र उद्देश्य नछोडेको र विगतका सहमति कार्यान्वयन गर्न आफू लागिरहेको बताए । बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले अराजकता पैदा गरेर पार्टीलाई कमजोर बनाउन लागेको आरोप लगाएका दाहालले पार्टी कमजोर नबनाउन आग्रह गरेका छन् ।

पार्टीकै उपाध्यक्ष वैद्य पक्षले चाहेजस्तो गर्ने हो भने विजयको नजिक पुगेको पार्टी वर्मा र मलायाको हालतमा पुग्ने भन्दै दाहालले त्यस्तो हुन नदिन आफ्नो नेतृत्व लागिपरेको बताए ।
शान्तिप्रक्रिया टुङ्गोमा पुगेपछि तत्कालै संविधान निर्माणको काम हुन्छ भनेपनि राजनीतिक दलहरु पछि हट्न लागेको आरोप दाहाले लगाएको कार्यक्रममा सहभागी एमाओवादीका युवा नेता युवराज चौलागार्इंले जानकारी दिए ।

सेना समायोजनको सन्र्दभमा गत चैत २८ गते आफूले गरेको निर्णय ऐतिहासिक भएको चर्चा गर्दै अध्यक्ष दाहालले जनमुक्ति सेनालाई आत्मसमर्पण नगराएको दाबी गरे । उनले भने, ‘हिजोको शाही सेनासँग नभई सङ्घीय गणतान्त्रिक नेपालको सेनासँग समायोजन गर्न लागेकाले आशङ्का नगर्न म सबैमा आग्रह गर्दछु ।’

अध्यक्ष दाहालले पार्टी एकता विपरीत जाने जोकोहीलाई पनि सहिद, बेपत्ता र घाइते योद्धाहरुले नछाड्ने चेतावनी दोहराए ।

पहिचानसहितको सङ्घीयता र कार्यकारी राष्ट्रपति पक्षमा आफ्नो पार्टी कुनै पनि हालतमा सम्झौता गर्न नसक्ने अध्यक्ष दाहालको भनाई छ ।

प्रतिक्रिया