मधेसवादी नेताहरु पुनः एउटै थलोमा

काठमाडौं, ७ वैशाख । संविधानमा मधेसका माग र मुद्धालाई नयाँ संविधानमा सम्बोधन गराउन बिभिन्न राजनीतिक दलहरुमा आवद्ध मधेसवादी दलका नेताहरुले दबाव समूह गठन गरेका छन् ।

उनीहरुले संविधानसभामा एक भएर आफ्ना अधिकारका पक्षमा आवाज उठाउन मधेसी सभासद दबाव समूह गठन गरेका छन् भने सडक आन्दोलनका लागि बृहत मधेसी दबाव समूह पनि बनाएका छन् ।

मधेसी सभासद दबाव समूहले संविधानसभाको आगामी वैशाख–११ गतेको बैठकमा स्वायत्त मधेस प्रदेश, पहिचान सहितको संघीयताको सुनिश्चितताका लागि आवाज उठाउने सहमति गरेको छ ।

संविधानको मस्यौदामै पहिचान सहितको संघीय संविधानको प्रावधान हुनेपर्ने उनीहरुको भनाई छ ।

यसै गरि बृहत मधेसी दबाव समूहले मधेसका मुद्धाहरुलाई संविधानमा संबोधन गर्न दबाव दिनका लागि बिभिन्न किसिमबाट सडक आन्दोलन गर्ने छ ।

यी दुबै दबाव समूहको संयोजन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्ने छन् ।

सिंहदरबारमा आज बसेको बिभिन्न दल आबद्ध मधेसी नेता तथा सभासदहरुको संयुक्त बैठकले मधेसी मुद्धाका लागि सबै पार्टीमा रहेका मधेसी सभासद र नेताहरु एक जुट भई संघर्ष गर्ने निर्णय समेत गरेका छन् ।

सो बैठकमा फोरम लोकतान्त्रिकबाट शरतसिंह भण्डारी, जितेन्द्र देब, एमाओवादीबाट रामरिझन यादव, प्रभू साह, एमालेबाट गोपाल ठाकुर, सद्भावना आनन्दी देवीबाट सरिता गिरीलगायतका नेता तथा सभमासद सहभागी छन् ।

बैठकले मधेसका मुद्धा र मागलाई लिएर अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा अवधारणा पत्र समेत तयार बनाएको छ ।

प्रतिक्रिया