मध्यपुरलाई हिमालयन ब्रुअरीको साथ

काठमाडौं, ४ वैशाख । केही महिनाअघि मात्र ‘ए’ डिभिजनमा उक्लिएको मध्यपुर युथ एसोसिएसन क्लबलाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजक भएर साथ दिएको छ । सोमबार भक्तपुरे क्लब मध्यपुर र हिमालयन बु्रअरीबीच प्रायोजना सम्झौतामा हस्ताक्षर भयो । एक वर्षका लागि भएको यस सम्झौताअनुसार मुख्य प्रायोजक बन्दै हिमालयन ब्रुअरीले मध्यपुर क्लबलाई १३ लाख ६० हजार रुपियाँ दिनेछ । यससँगै मध्यपुर युथ एसोसिएसन क्लब अब कम्तीमा एक वर्षका लागि आइसवर्ग मध्यपुर युथ एसोसिएसन भएको छ । आइसवर्ग बियर हिमालयन ब्रुअरीको मुख्य उत्पादन हो । सम्झौता रकममध्ये आठ लाख रुपियाँ नगद दिइने र बाँकी क्लबको प्रवर्द्धनमा खर्च गरिने जनाइएको छ ।
क्लबका लागि मात्र होइन, हिमालयन बु्रअरीले एक प्रतियोगिताका लागि पनि प्रायोजना सम्झौता गर्‍यो । मध्यपुर युथ एसोसिएसनको आयोजनामा ठिमीमा हुने गोल्डकप प्रतियोगिताका लागि हिमालयन ब्रुअरीको साथ रहने भएको हो । आइसवर्ग गोल्डकप नाम रहने सो प्रतियोगिताका लागि हिमालयन ब्रुअरीले ५ लाख २० हजार रुपियाँ दिनेछ ।
एकेडेमीका रूपमा फुटबल खेल्न थालेको मध्यपुर युथ एसोसिएसनले भर्खरै सम्पन्न ‘बी’ डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । क्लबका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंहले मध्यपुर युथ एसोसिएसन नम्बर १ फुटबल क्लब बन्ने योजनामा रहेको जानकारी दिए ।
नेपालमा ‘ए’ डिभिजनमा रहेका प्रायः क्लबले प्रायोजकहरूबाट बलियो साथ पाएका छन् । नेपाल पुलिसदेखि बाँसबारी क्लबसम्मलाई प्रायोजकको साथ छ ।

प्रतिक्रिया