चमेलियाले ल्यायो परिवर्तन

दार्चुला, ३ वैशाख । निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको निर्माणले दार्चुला आयोजनास्थल क्षेत्र र स्थानीयवासीमा ठूलो परिवर्तन ल्याएको छ । जिल्लाको अतिदुर्गम क्षेत्र मानिने शिखर र आसपासका क्षेत्रमा आयोजना निर्माण सुरुसँगै परिवर्तन आएको छ ।
राजधानी काठमाडौंबाट करिब एक हजार किलोमिटर टाढा रहेको सो विकटक्षेत्रमा जलविद्युत् निर्माण सुरुपछि स्थानीयवासीको आयआर्जन र विकास निर्माणमा ठूलो परिवर्तन आएको हो । सन् ००७ मा आयोजना सुरु भएपछि मोटरबाटो निर्माणका साथै अन्य विकास निर्माणका काम अघिबढेसँगै स्थानीयवासीको आयआर्जन बढेको स्थानीय बताउँछन् । ‘विकास निर्माणभन्दा धेरै टाढाको विकट क्षेत्रमा जलविद्युत् आयोजना आएपछि आयोजनास्थल वरिपरिको क्षेत्रमा त विकासको ढोका नै खुल्यो,’ आयोजनास्थल शिखर गाविसका पूर्वअध्यक्ष माधव कठायतले थपे, ‘जलविद्युत् आयोजनाले यस क्षेत्रको विकास निर्माणमा ठूलो फड्को मार्‍यो ।’
भौगोलिक रूपमा विकट यस गाउँमा अहिले मोटरबाटो पुगेको छ भने अधिकांशले रोजगारी पाएका छन् । आयोजनाका अनुसार पहिला एउटा पनि पसल नभएको आयोजनास्थल वरिपरिको गाउँ अहिले बजारमा परिणत भएको छ । अहिले यहाँ ४० भन्दा बढी पसल छन् । ‘मैले शिक्षक भएर ३० वर्षभन्दा बढी काम गर्दाको भन्दा दुई वर्षमै बढी पैसा कमाउन सकेँ । यस गाउँका धेरै स्थानीयवासीले लाखाँै कमाउन थालेका छन्,’ पूर्वअध्यक्ष कठायत भन्छन् ।
दार्चुलाको गोकुलेदेखि आयोजना स्थलसम्म करिब १८ किलोमिटर मोटरबाटोसमेत आयोजनाले बनाएको छ । मोटरबाटोको निर्माणले स्थानीयवासीले यातायातको सुविधा पाएका छन् । आयोजना सुरु भएपछि यस क्षेत्रमा पशुपालन, बाख्रापालन, मौरीपालन, विभिन्न व्यावसायिक तालिमहरूसमेत दिइँदै आइएको छ । ‘आयोजनाले स्थानीयवासीको आयआर्जनमा ठूलो परिवर्तन ल्याएको छ, जनचेतनामूलक कार्यक्रमदेखि आर्यआर्जनसम्मका कार्यक्रम गरिरहेका छौँ,’ आयोजनाका वातावरण विज्ञ गणेशकुमार उप्रेतीले भने ।
आयोजनास्थल वरिपरिका शिखर, मार्मालगायतका गाविसका बासिन्दाले मात्र होइन, दार्चुला, बैतडी, डडेल्धुरालगायतका क्षेत्रका बासिन्दाले समेत रोजगारी पाएका छन् । आयोजनाप्रमुख गोपालबाबु भट्टराईका अनुसार चार सय ५० जनाले रोजगारी पाएकामध्ये अधिकांश स्थानीय छन् ।
यहाँका गाउँलेले तरकारीलगायत नगदे बालीको खेती गर्न थालेका छन् । पहिला एक रुपियाँ कमाउनका लागि सहर र छिमेकी मुलुक भारत जानुपर्ने अवस्थामा रहेको यहाँका बासिन्दाले रोजगारीमा जाँदा दैनिक पाँच सयभन्दा बढी कमाउन थालेका छन् भने पसल, तरकारीलगायतले दैनिक एक लाख रुपियाँभन्दा बढी आम्दानी हुन थालेको छ ।
जलविद्युत् आयोजना निर्माण नभएको भए भौगोलिक अवस्थाले यहाँ नगदेबाली खेती सम्भव नै थिएन । चीनको सैपाल र अपी हिमाल तथा भारतको उत्तराखण्डको धार्चुलासँग जोडिएको यस क्षेत्रका अधिकांश रोजगारीका लागि भारत पुग्ने गरेका थिए । अहिले रोजगारीका लागि भारत पुगेकाहरू आयोजना सुरु भएपछि आफ्नै गाउँ फर्केर काम गरिरहेका छन् । अहिले यो क्षेत्रमा बिजुलीबत्तीका लागि प्रक्रिया पनि अघिबढेको छ । ‘स्थानीयवासीलाई यातायात, रोजगारी, विद्युलगायतमा आयोजना निर्माणले धेरै सहयोग पुगेको छ,’ सभासद् लक्ष्मणदत्त जोशीले भन्छन् । ०१३ अगस्टमा सिध्याउने लक्ष्य राखिएको सुदूरपश्चिमको एक मात्र निर्माणाधीन चमेलिया जलविद्युत् आयोजना ३० मेगावाट क्षमताको हो । आयोजना निर्माणको करिब ८० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया