यी नरभक्षी !

ब्रासिलिया : मान्छेको मासु खाने मानिसका प्रसंग दन्त्यकथामा पाइन्छन् । तर, वास्तविक जीवनमै यस्तो घटना घटेको सुन्नुभयो भने तपाईंलाई आश्चर्य लाग्ला ! ब्राजिलमा यस्तै अपत्यारिलो घटना भएको छ ।
ब्राजिलका तीनजनाले एउटी महिलाको हत्या गरेर मृतकको मासुबाट परिकार बनाएका छन् । त्यस्तो परिकार खानुबाहेक उनीहरूले छरछिमेकीलाई समेत बिक्री गरेको सार्वजनिक भएपछि यसले ब्राजिलमा सनसनी मच्चाएको छ । ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्दै आएका जोर्ग बेल्ट्रो निग्रोमोन्ट, उनकी श्रीमती इसाबेल पाइरस र प्रेमिका ब्रुना डा सिल्भाले एक महिलाको हत्यापछि तिनको मासुबाट परिकार बनाएको प्रहरीले जनाएको छ ।
आयाको जागिर लगाइदिने प्रलोभन देखाई घरमा बोलाएर उनीहरूले ती महिलाको हत्या गरेका हुन् । प्रहरीले उनीहरूको बगैँचाबाट थप दुई शव बरामद गरेको छ । सोही क्षेत्रका दुई महिला केही दिनअघिदेखि हराइरहेकाले ती शव उनीहरूकै हुन सक्ने आशंका गरिएको छ । यी नरभक्षी ‘विश्वको शुद्धीकरण र जनसंख्या कटौती’ मा विश्वास राख्ने सम्प्रदायका मानिस हुन् । उनीहरूलाई गत बुधबार प्रहरीले पक्राउ गरेको थियो । सोधपुछका क्रममा उनीहरूले अपराध स्वीकार गरेका थिए । हरेक वर्ष तीन महिलाको हत्या गर्ने योजना आफूहरूले बनाएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।

प्रतिक्रिया