तालिबानद्वारा भीषण आक्रमण

काबुल, ३ वैशाख । अफगानिस्तानमा तालिबान सफाया आन्दोलन जारी रहेकै बेला तालिबान चरमपन्थीहरूले आइतबार राजधानी काबुलसहित देशका विभिन्न क्षेत्रमा भीषण आक्रमण गरेका छन् । अफगानिस्तानमा रहेका विभिन्न राष्ट्रका दूतावास, उत्तर एटलान्टिक सन्धि संगठन -नेटो)को मुख्यालय र संसद्भवनमा आक्रमण गरिएको तालिबान प्रवक्ताले आइतबार दिउँसो जनाएका छन् । काबुलभर विष्फोट र गोलीप्रहार भएको थियो । चरमपन्थीहरूले राष्ट्रपति भवन, राष्ट्रसंघ कार्यालय, विदेशी दूतावासछेउका होटल आदि कब्जा गरेर एकसाथ आक्रमण थालेका थिए ।
काबुलस्थित बेलायती दूतावासमा तालिबानहरूले रकेट प्रहार गरेको जनाइएको छ । साथै, जर्मन र रुसी दूतावासमा पनि आक्रमण भएको समाचारमा उल्लेख छ । अमेरिकी दूतावास आसपासका क्षेत्रसम्म आक्रमण गरिएको दूतावासस्रोतले पुष्टि गरेको छ ।
त्यसैगरी, चार आत्मघाती आक्रमणकारीले जलालाबादमा रहेको हवाई अड्डामा क्षति पुर्‍याउने प्रयास गरेका थिए । सो स्थानमा अमेरिकी सेनाको अखडा छ । एक आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराएको र बाँकीलाई पक्राउ गरिएको अमेरिकी सेनाका एक कमान्डरले जानकारी दिएका छन् । राजधानी काबुलमा भएको आक्रमणमा ‘दुस्मन’तर्फ ठूलो क्षति भएको तालिबानले ट्विटरमार्फत दाबी गरेको छ । यसबाहेक लोगर र पाकटिया प्रान्तमा पनि आक्रमण गरिएको तालिबानले जनाएको छ । अफगानिस्तानमा तैनाथ संयुक्त सुरक्षा बलले समेत तालिबान चरमपन्थीहरूले चौतर्फी हमला गरेको पुष्टि गरेको छ । राजधानी काबुलमा एकैसाथ सात स्थानमा आक्रमण भएको संयुक्त सुरक्षा बलले जनाएको छ । क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन ।

कैदी भगाइए
इस्लामाबाद : उत्तरपश्चिम पाकिस्तानस्थित एक जेलमा तालिबान चरमपन्थीहरूले आइतबार आक्रमण गरेपछि चार सय कैदी फरार भएका छन् । फरार हुनेमध्ये आफ्ना विशेष कमान्डरसमेत रहेको तालिबानले दाबी गरेको छ । बन्नु सहरस्थित जेलमा तालिबानले आक्रमण गरेका थिए । सो सहर उत्तरी बजिरिस्तानको आदिवासी क्षेत्रनजिकै अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा पर्छ ।
अत्याधुनिक हातहतियारले सुसज्जित एक सय ५० भन्दा बढी चरमपन्थी अन्धाधुन्ध आक्रमण गर्दै जेलभित्र एकाएक प्रवेश गरेका थिए ।

प्रतिक्रिया