लडाकु कमान्डरद्वारा ५५ करोड झवाम


काठमाडौं, ३ वैशाख । एकीकृत नेकपा (माओवादी)ले तीन शिविरका लडाकुबाट मासिक रूपमा उठाएको रकममा ठूलो अनियमितता भएको दाबी गरिएको छ । आन्दोलनरत लडाकुहरूले उठाइएको रकमको हिसाब-किताब पारदर्शी ढंगले यथाशीघ्र सार्वजनिक नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
स्रोतका अनुसार माओवादी लडाकुका सात मुख्य शिविरमध्ये चितवनस्थित तेस्रो, नवलपरासीस्थित चौथो र सुर्खेतस्थित छैटौँ डिभिजनमा आर्थिक हिनामिना भएको छ । तीनवटै शिविरमा रहेका लडाकुबाट ५५ करोडभन्दा बढी रकम उठाइएको स्रोतले जनाएको छ । ‘हामीबाट उठाइएको त्यत्रो रकमको कुनै हिसाब-किताब देखाइएको छैन,’ छैटौँ डिभिजनमा कार्यरत एक कमान्डरले भने ।
तेस्रो डिभिजनमा धनबहादुर मास्की, चौथोमा तेजबहादुर ओली र छैटौँमा महेन्द्रबहादुर शाही कमान्डर छन् । मास्की र ओली एमाओवादी केन्द्रीय सदस्यसमेत हुन् । शाही पनि केन्द्रीय सदस्य नरहेका डिभिजन कमान्डरहरूमध्ये वरिष्ठ मानिन्छन् ।
माओवादीले लडाकुहरू शिविरमा बस्न थालेदेखि (५ मंसिर ०६३) नै उनीहरूबाट मासिक एक हजार रुपियाँ उठाउँदै आएको थियो । माओवादी नेतृत्वको निर्देशनअनुसार रकम उठाउने काम भएको थियो । गत मंसिरसम्म लडाकुहरूबाट रकम उठाइएको थियो । ५ वर्षको अवधिमा शिविरका एक लडाकुबाट ६० हजार रुपियाँ उठाइएको छ । यसका अतिरिक्त पिएलए स्पोर्ट क्लब, जनमुक्ति सेना राहत कोषलगायत नाममा पनि कमान्डरले बेला-बेलामा रकम उठाउने गरेको स्रोतले जनाएको छ ।
चितवनस्थित तेस्रो डिभिजनमा सबैभन्दा धेरै लडाकु थिए । गत मंसिरमा भएको पहिलो चरणको वर्गीकरणमा तेस्रो डिभिजनमा तीन हजार तीन सय ५० लडाकु वर्गीकरणमा सहभागी भएका थिए । त्यस्तै, सुर्खेतस्थित छैटौँ डिभिजनमा दुई हजार नौ सय ५८ लडाकु र नवलपरासीस्थित चौथो डिभिजनमा दुई हजार ६ सय ३० लडाकु वर्गीकरणमा सहभागी थिए ।
मंसिरको वर्गीकरणमा सहभागी तेस्रो डिभिजनका तीन हजार तीन सय ३० लडाकुबाट मात्रै माओवादीले मासिक एक हजार रुपियाँका दरले पाँच वर्षको अवधिमा २० करोड १० लाख उठाएको छ । त्यसबाहेक अनमिनको प्रमाणीकरणमा सहभागी भएलगत्तै शिविरबाट बाहिरिएका झन्डै चार सय लडाकुबाट पनि कमान्डरहरूले तलब र रासनभत्ता बुझ्दै आएका थिए । उनीहरूले शिविरमा नभएका लडाकुको समेत तलब र रासनभत्ता बुझेको तथ्य मंसिरको वर्गीकरणपछि मात्र खुलेको थियो । लडाकुले पाउँदै आएको मासिक आठ हजार रकम नै कमान्डरहरूले बुझ्ने गर्थे ।
त्यस्तै, नवलपरासीस्थित चौथो डिभिजनका दुई हजार ६ सय ३० लडाकुबाट १५ करोड ७८ लाख रुपियाँ माओवादीले उठाएको थियो । त्यहाँ रहेका झन्डै तीन सय लडाकुको तलब-भत्तासमेत कमान्डरले बुझ्दै आएका थिए ।
पाँच वर्षको अवधिमा माओवादीले सुर्खेतस्थित छैटौँ डिभिजनमा अन्तिम वर्गीकरणमा सहभागी दुई हजार नौ सय ५८ लडाकुबाट मात्रै १७ करोड ८४ लाख ८० हजार रकम उठाएको थियो । यसका अतिरिक्त यस शिविरमा अनमिनको प्रमाणीकरणमा सहभागी भएर फरार भएका तीन सय ५० जना लडाकुको समग्र तलब-भत्तासमेत कमान्डरहरूले बुझेका थिए ।
तीनवटै शिविरबाट बेपत्ता भएका एक हजारभन्दा बढी लडाकुबाट पनि माओवादीले करिब एक करोड रुपियाँ उठाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार तेस्रो डिभिजनबाट ‘बेपत्ता’ भएका चार सय लडाकुबाट झन्डै ३२ लाख, चौथो डिभिजनबाट ‘गायब’ भनिएका करिब तीन सय लडाकुबाट २४ लाख र छैटौँ डिभिजनबाट हराएका तीन सय ५० लडाकुको करिब २८ लाख रकम कमान्डरले उठाएको स्रोतको दाबी छ । यस रकमका अतिरिक्त लडाकुबाट पिएलए स्पोर्ट क्लब र आपत्कालीन कोषका नाममा उठाइएको रकमको समेत हिसाब देखाइएको छैन ।
स्रोतका अनुसार लडाकुबाट मासिक रूपमा उठाइएको रकमबाट कुनै पनि डिभिजनमा पाँचदेखि सात करोडभन्दा धेरै खर्च भएको छैन । त्यति रकम पनि वाइसिएलको भरणपोषणका लागि खर्च भएको हो । संविधानसभा निर्वाचनपछि भने वाइसिएललाई शिविरबाट उठाइएको रुपियाँ दिन माओवादीले बन्द गरेको थियो ।
लडाकु स्रोतका अनुसार उठाइएको रकममध्ये समायोजनमा जाने वा घर फर्किने बेला फिर्ता गर्ने प्रतिबद्धता कमान्डरहरूले गरेका थिए । तर, अहिलेसम्म न लडाकुलाई रकम फिर्ता दिइएको छ न त हिसाब-किताब नै देखाइएको छ । आफूहरूबाट उठाइएको रकमको हिसाब माग्दा कमान्डरहरूले विभिन्न बहाना बनाएर उम्किने गरेका लडाकुहरूको गुनासो छ । उनीहरूले ‘सबै रकम पार्टी नेतृत्वलाई बुझाइसक्यौँ, एक-एक हिसाब देखाउनुपर्ने तिमीहरू को हौ भनेर उल्टै हप्काउने गरेको’ एक लडाकुले बताए ।
कमान्डरहरूले हिसाब देखाउन आनाकानी गरेपछि बि्रगेड कमान्डर र त्यसभन्दा तल्लो तहका लडाकु संगठित भएर कमान्डरविरुद्ध आन्दोलन सुरु गरेका थिए । आन्दोलन चर्कने संकेत पाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रत्यक्ष निर्देशन र आग्रहमा सेना समायोजन विशेष समितिले लडाकु शिविर नेपाली सेना जिम्मा लगाएको थियो ।
लडाकु, शिविर र हतियार नेपाली सेनाको जिम्मा लगाएपछि लडाकुहरूको आन्दोलन केही मत्थर भएको छ । छैटौँ  डिभिजनअन्तर्गतका एक बि्रगेड कमान्डरले ‘आफूहरूबाट उठाइएको रकम कसले कहाँ गायब गर्‍यो भन्ने पत्ता लगाइछाड्ने’ बताए । ‘हामीबाट उठाइएको करोडौँ रकमको खोजी सुरु भएपछि दमन गरेर त्यसलाई ढाकछोप गर्न खोजिँदै छ । तर, हामी चुप लाग्ने पक्षमा छैनाँै,’ ती बि्रगेड कमान्डरले भने ।
छैटौँ डिभिजनका बटालियन कमान्डर धनबहादुर बोगटीले डिभिजन कमान्डरहरूले आफूहरूबाट उठाइएको करोडौँ रुपियाँ हिनामिना गरेको बताए । शान्तिप्रक्रिया सुरु भएलगत्तै काठमाडौंमा पार्टी नेताहरूको सुरक्षामा खटिएका एक सय सात लडाकुमध्ये आधाभन्दा बढीले दैनिक रासनबापतको रकमसमेत नपाएको उनले बताए ।
लडाकुहरूले हिनामिना भएको रकमबारे खोजीनिती गर्न बोगटीकै नेतृत्वमा संघर्ष समिति पनि गठन गरेका छन् । ‘शिविरमा कमान्डरहरूले आर्थिक हिनामिना गरेर आतंक मच्चाएका छन् । हामीले यसको खोजी सुरु गरेपछि नेपाली सेना परिचालन गरी बन्दी बनाएर सत्य लुकाउने प्रयत्न भइरहेको छ । तर, हामी चुप लागेर बस्ने पक्षमा छैनौँ,’ बटालियन कमान्डर बोगटीले भने ।
चौथो डिभिजनका कमान्डर तेजबहादुर ओलीले आर्थिक अनियमितता गरिएको भन्ने आरोप चरित्रहत्या गर्ने उद्देश्यले मात्रै लगाइएको दाबी गरे । ‘यस्ता अरोप वाहियात, कपोलकल्पित, भ्रामक, तथ्यहीन, मिथ्या, चरित्रहत्या गर्नेलगायत के-के शब्द हुन्छन् नि, तिनले पनि नपुग्ने उद्देश्यले लगाइएका हुन्,’ उनले सौर्यसँग भने ।
पार्टीभित्र दुई खेमाबीच चलिरहेको संघर्षको परिणामस्वरूप नै शिविरभित्र आर्थिक अनियमितता भयो भन्ने आरोप आएको कमान्डर ओलीले बताए । पार्टी नेतृत्वसमक्ष सबै हिसाब-किताब बुझाएको उनको दाबी छ । ‘यहाँ अध्यक्षको त पुतला जलाइरहेका छन्, तपाइर्ं आफँ पनि बुझ्न सक्नुहुन्छ नि ! यो लाइनको संघर्षको परिणाम हो भन्ने,’ उनले भने ।

प्रतिक्रिया