अखिलेशलाई मायावतीको धम्की

लखनउः भारतीय राज्य उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मायावतीले राज्यमा रहेका दलित स्मारक हटाउने काम भए कानुनी व्यवस्था बिथोलिने धम्की दिएकी छिन् । उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले मायावतीको कार्यकालमा बनाइएका पार्कका खाली ठाउँमा स्कुल, कलेज, अस्पताल आदि निर्माण गर्ने जनाएपछि मायावतीले यस्तो चेतावनी दिएकी हुन् ।
विधानसभा निर्वाचनमा मायावतीको दल बहुजन समाजवादी पार्टीर् -बिएसपी) पराजित भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापरेकी उनले यस्तो चेतावनी दिएकी हुन् । दलित स्मारक र पार्क बदल्ने, विनाश गर्ने अथवा नयाँ संरचना निर्माण गर्ने काम भए समाजवाटी पार्टी -एसपी) को सरकारले नराम्रो परिणाम बेहोर्नुपर्ने चेतावनी उनले दिइन् ।
‘दलित स्मारकलाई चलाए उत्तर प्रदेशमा मात्रै होइन, पुरै देशको कानुनी व्यवस्था खलबलिनेछ । ती स्मारक दलित जनताका संवेदना र इज्जतसँग गाँसिएका छन्,’ उनले भनिन् ।
नयाँदिल्लीमा प्रधानमन्त्रीसँगको भेटपछि संवाददातासँग कुरा गर्दै मुख्यमन्त्री यादवले पार्कका खाली ठाउँको अधिकतम उपयोग गरिने बताएका थिए । मायावती सरकारले जनताको पैसा मूर्ति र स्मारक बनाएर बर्बाद गरेको आरोप उनले लगाएका थिए । विधानसभा निर्वाचनमा विजयी भएलगत्तै पनि उनले पार्कमा राखिएका स्मारक नहटाई खाली ठाउँमा अस्पताल, स्कुल आदि निर्माण गरिने घोषणा गरेका थिए । ‘नोयडामा पार्क बनाएर मायावतीले पर्यावरण विनाश गरेकी छिन्, ती जमिनको अधिकतम उपयोग गर्न सकिन्थ्यो,’ संवाददातासमक्ष यादवले भने । बिएसपीले  दलितका सवाल उठाउँदै आएको छ । उत्तर प्रदेश दलितको जनसंख्या उच्च भएको राज्य हो । -एजेन्स

विवादित नेत्री

रातारात अर्बपति भएकी मायावतीको सम्पत्तिको स्रोतबारे भारतमा अनेक आशङ्का गरिन्छ । गत पाँच वर्षभित्र मायावतीको सम्पत्ति बढेर एक अर्ब ११ करोड भारतीय रुपियाँ पुगेको तथ्य प्रकाशमा आएपछि उनको सम्पत्तिलाई लिएर अनेक आशङ्का गर्न थालिएको हो ।
विधानसभा निर्वाचनका क्रममा निर्वाचन आयोगसमक्ष मायावतीले पेस गरेको सम्पत्ति विवरणमा उनी रातारात अर्बपति भएको देखिएको थियो । सन् २०१० को विधानसभा निर्वाचनताका उनको सम्पत्ति करिब ८८ करोड मात्रै थियो ।
गरिबीमा पिल्सिएका दलितका विषय उठान गर्ने मायावती स्वयंले भने ऐयासी जीवन बिताउने गरेकी छिन् । मन परेको जुत्ता खरिद गर्न उनले प्लेन चार्टर गरेर मुम्बइ पठाएको यसअघि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया