शवदहन केन्द्र बन्यो गोदाम

काठमाडौं, २ वैशाख । ३० वर्षअघि टेकुमा निर्माण गरिएको विद्युतीय शवदहन केन्द्र अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । तत्कालीन प्रधानपञ्च कमल चित्रकारको पालामा स्थापित केन्द्रका लागि भवन निर्माण पूरा भए पनि अझै प्रयोगमा आएको छैन ।
केन्द्र प्रयोगमा नआएपछि काठमाडौं महानगरपालिकाले त्यसलाई गोदामका रुपमा प्रयोग गर्दै आएको छ । महानगरपालिकाका अधिकारी उक्त केन्द्रलाई गोदामघरका रुपमा प्रयोग गरिरहेको बताउँछन् ।
२०३८ सालमा केन्द्रको चिम्नी घरसमेत बनाई शव नष्ट गर्न भारतको कोलकाताबाट १६ लाख रुपियाँमा विद्युतीय उपकरण ल्याइएको थियो तर उक्त उपकरण जडान नै गरिएन । त्यसबेला दुइटा शववाहनसमेत ल्याइएको थियो । २०४५ सालका प्रधानपञ्च हरिबोल भट्टराईले आफ्नो कार्यकालअघि नै शवदहन केन्द्र निर्माण भए पनि सञ्चालनमा नआएको बताए । ‘शवदहन केन्द्र बनेको थियो, किन सञ्चालनमा आएन भन्ने थाहा भएन,’ भट्टराईले सौर्यसँग भने ।
स्रोतका अनुसार उक्त केन्द्रका लागि ल्याइएको विद्युतीय उपकरण थोत्रो भएकाले केन्द्र सञ्चालनमा आउन नसकेको हो । तत्कालीन प्रधानपञ्च भट्टराईले पनि पुरानो सामान ल्याइएको थाहा पाएपछि केन्द्र उद्घाटन नगरेका हुन् ।
केन्द्रका विषयमा विस्तृत विवरण आफूहरूसँग नरहेको महानगरपालिकाका कर्मचारीको भनाइ छ । ‘शवदहन केन्द्र बनेको थियो भन्नेसम्म सुनिएको हो, त्यसबारे विस्तृत विवरण भने हामीसँग छैन,’ महानगरपालिकाका वातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठले भने ।
शव जलाउनका लागि ल्याइएको सामानले काम नगर्ने थाहा पाएपछि तत्कालीन प्रधानपञ्च भट्टराईले केन्द्रको उद्घाटन गर्न नमानेको स्रोत बताउँछ । स्रोत भन्छ, ‘त्यसबेला भट्टराईजीले शवदहन केन्द्र उद्घाटन गरे पनि काम हँुदैन भन्ने थाहा पाउनुभएछ, त्यसैले उद्घाटन भएन ।’
महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले केन्द्रलाई सञ्चालनमा ल्याउन कुनै गृहकार्य नभएको बताए । ‘त्यसबारे त सोचिएकै पो छैन !’ अधिकारीले भने ।

पशुपतिमा बन्दै विद्युतीय शवदहन केन्द्र
टेकुमा बनेको विद्युतीय शवदहन केन्द्र प्रयोगमा आउन नसके पनि पशुपति क्षेत्रमा भने विद्युतीय शवदहन केन्द्र निर्माणाधीन छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुशील नाहाटाका अनुसार सात रोपनी जग्गामा आठ करोड रुपियाँ लगाएर शवदहन केन्द्र बन्ने छ ।
शवदहनका लागि चाहिने विद्युतीय उपकरणको मूल्य करिब दुई करोड ५० लाख रुपियाँ पर्ने कोषले जनाएको छ । भारतबाट उपकरण ल्याउन आवश्यक तयारी पूरा गरी एलसी -प्रज्ञापनपत्र) खोलिसकिएको छ । विद्युतीय उपकरणबाट शव जलाउन  खोज्नेका लागि केन्द्र बनाउन लागिएको सदस्यसचिव नाहाटाले बताए । उनका अनुसार काठ अभाव हुँदै गएकाले त्यसको विकल्पमा विद्युतीय शवदहन केन्द्र बनाउन लागिएको हो । ‘विदेशमा नेपालीले पनि शवदहन केन्द्रमै मृतकको दाहसंस्कार गर्छन्, हाम्रामा पनि गर्न चाहनेका लागि बनाउन खोजिएको हो,’ उनले भने ।

प्रतिक्रिया