जोखिममा जेलघर

काठमाडौं, २ वैशाख । कारागारनजिकै बनेका अग्ला भवनका कारण काठमाडौं उपत्यकाका तीनवटै कारागार असुरक्षित बन्न पुगेका छन् । अपराधीले ती भवनका झ्याल र कौसीबाट कारागारभित्रको वातावरण नियालेर अपराधको योजना बनाउन सक्ने भएकाले कारागार असुरक्षित
बनेका हुन् ।
उपत्यकाभित्र जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, डिल्लीबजारस्थित सदरखोर र एकान्तकुनास्थित नक्खु जेल गरी तीन कारागार छन् । कारागार व्यवथा विभागले पनि नजिकै बनेका अग्ला भवनका कारण कारागार असुरक्षित बनेको निष्कर्ष निकालेको छ । विभागका निर्देशक दुर्गा भण्डारीले त अग्ला भवनकै कारण कारागारको सुरक्षामा ‘थ्रेट’ बढेको जानकारी दिए । उनले भने, ‘अहिले उपत्यकाका तीनवटै कारागारमा सुरक्षा ‘थ्रेट’ बढेको सही हो ।’

करिब ५० रोपनी जग्गामा रहेको केन्द्रीय कारागार विशेषगरी उत्तरतर्फ बन्दै गरेको व्यापारी कम्प्लेक्स ‘सिभिल ट्रेड सेन्टर’का कारण असुरक्षित बनेको छ । कारागार एकतले मात्रै छ जब कि ट्रेड सेन्टर ११ तले छ । सेन्टरको भुइँतलाबाहेक सबै तलाबाट कारागारभित्रको पूरै भाग सजिलै नियाल्न सकिन्छ । सेन्टरले कारागारतर्फको भागमा सानो बरन्डा र पारदर्शी झ्यालसमेत राखेको छ । जेलर तीर्थ भट्टराईले सौर्यसँग भने, ‘अपराधीले सेन्टरको बरन्डा अथवा झ्यालमा बसी कारागारका कैदीलाई निसाना बनाए सिधै निधारमा गोली लाग्न सक्छ ।’ उनका अनुसार पारदर्शी झ्याल नराख्न अनुरोध गर्दा पनि सेन्टरले टेरेन । सेन्टरको सबैभन्दा माथिल्लो तलामा बनेको हेलिप्याड र कौसीबाट कारागारको सबै भाग देख्न सकिन्छ । जेलर भट्टराईले भने, ‘प्रहरीको सुरक्षा घेरालाई छलेर त अपराधी कारागारभित्रका कैदीलाई गोली हान्न सक्छन् भने त्यस्ता स्थानबाट नहान्लान् भन्ने के ग्यारेन्टी ?’
ट्रेड सेन्टर कारागारको गारोभन्दा १६ फिट मात्रै टाढा छ । जेलर भट्टराईले सेन्टर सञ्चालन भएपछि सुरक्षामा झन् ठूलो असर पर्ने बताए । उनले भने, ‘सेन्टरमा मल्टिप्लेक्स सिनेमा हल, रेस्टुरेन्ट तथा अन्तर्राष्ट्रियस्तरका सयौँ स्टल भएका कारण सधैँ मानिसको भिड हुन्छ, अन्तर्राष्ट्रियस्तरका अपराधीले यहीँबाट चलखेल गर्न सक्छन् ।’ उनका अनुसार कारागारको गारोभन्दा पाँच मिटर दूरीमा बनेका निजी घरका कारण पनि सुरक्षामा खतरा बढेको छ ।
डिल्लीबजार सदरखोरको दक्षिणतर्फ हुलाक सेवा विभागको ६ तले भवन बन्दै छ । भवनको दोस्रोबाहेक सबै तलाबाट कारागारको वातावरण नियाल्न सकिन्छ । अपराधीले चाहे भने भवनको त्यही स्थानमा बसेर योजना बनाउन र प्रहार गर्न सक्छन् । मालपोत कार्यालयको ६ तले भवन त झन् कारागारको तीन मिटर दूरीमै उभिएको छ । भवनका अन्य तलाका झ्याल बन्द हुने भए पनि कौसी सधैँ खुला रहन्छ । कौसीबाट कारागारको सबै भाग स्पष्ट देखिन्छ । विभागका निर्देशक भण्डारीले केन्द्रीय कारागारको तुलनामा सदरखोर कम जोखिममा भए पनि पूरै सुरक्षित भने छैन । उनले भने, ‘कारागार छेउमा बनेका दुवै भवनमा सरकारी कार्यालय छन् तर अपराधीले चाहे जुनसुकै बेला चलखेल गर्न सक्छ ।’
मुलुककै चर्चित कारागार नक्खु जेल पनि वरिपरि बनेका भवनकै कारण असुरक्षित बनेको छ । कारागारकै गारोमा सटाएर ६ तलेसम्मका निजी घर बनाइएका छन् । जेलर खड्गराज शर्माले सबै घरबाट कारागारभित्रको वातावरण सजिलै नियाल्न सकिने बताए । उनले भने, ‘स्थानीयले कारागारको गारोमै सटाएर घर बनाएपछि कतिपटक त विवाद नै मच्चियो ।’ कारागारको करिब तीन सय मिटर दूरीमा १५ तले व्यापारिक कम्प्लेक्स बनिरहेको जानकारी दिँदै उनले भने, ‘यसले कारागारको सुरक्षामा गम्भीर असर पुर्‍याएको छ ।’
विभागका निर्देशक भण्डारीका अनुसार कारागारको आसपासमा कति तलेसम्मका भवन बनाउन पाइने भन्नेबारे कारागार ऐन, नियमावली र निर्देशिकामा केही उल्लेख छैन ।

प्रतिक्रिया