‘संघीयता बनाउँदा पहिचानलाई केन्द्रमा राखिने’

काठमाडौं, २ बैशाख । सत्तारुढ घटक एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जातीय पहिचान सहित राज्य पुनर्संरचना गर्नु पर्ने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको बैठकमा जातीय पहिचानलाई केन्द्रमा राखेर संघीय राज्य बनाउने सहमति भएको सूचना तथा सञ्चारमन्त्री एवं फोरम लोकतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै यादवले राज्य पुनर्संरचना गर्ने क्रममा जातीय पहिचानलाई ध्यानमा राखेर संघीयता बनाईने बताए । मधेसी मोर्चाले पहिचान र सामथ्र्यका साथै जातीयताका आधारमा संघीयता बनाउन दबाव दिदै आएको छ ।

बैठकमा सरकार गठनका क्रममा भएको चार बुँदे सहमति कार्यान्यनमा मधेसी मोर्चाले एमाओवादीको ध्यानाकर्षण समेत गराएको छ । मोर्चाले नागरिकता समस्या समधानका लागि अन्तरिम संविधान संशोधन गर्न दबाव दिएको मन्त्री यादवले बताए ।

प्रधानमन्त्री बावुराम भट्टराई नेतृत्वको बर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिनुपर्नेमा पनि एमाओवादी र मधेसी मोर्चावीच सहमति भएको छ । उनीहरुले सरकारलाई राष्ट्रिय स्वरुप दिन पहल गर्ने निष्कर्ष पनि निकालेका छन् । मन्त्री यादवले भने, ‘सरकारको विकल्प खोज्न आवस्यक्ता नरहेको निष्कस्कर्ष निकालेका छौं ।’

माओवादी र मधेसी मोर्चाबीच शान्ति प्रक्रिया र संविधान लेखनमा हाल सम्म भएका गतिविधिमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री बावुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार, फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया