राजधानीका सडक राम्रो बनाउः प्रधानमन्त्री

काठमाडौं, १६ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं उपत्याकाभित्र जारी सडक विस्तारको प्रगतिबारे पुनः जानकारी लिएका छन् । उनले कम क्षतिमा उन्नत सडक बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबामा आज भएको छलफलमा भट्टराईले छिटो सडक निर्माणको काम सक्न भनेका हुन् ।

सरोकारवाला कार्यालयका अधिकारीहरुले लैनचौरदेखि लाजिम्पाट, महाराजगञ्ज हुँदै न्युरो अस्पतालसम्मको सडक विस्तारबारे फोटो र नक्सासहित प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कम क्षतिमा सडक विस्तार गर्ने नीति अनुरुप सरकारले केही समय सो क्षेत्रको सडक विस्तार रोकेर सरोकारवालासँग छलफल थालेको थियो ।

प्रधानमन्त्री भट्टराईले सडक विस्तार गर्दा हुने भौतिक क्षति, उनीहरुको पुनःस्थापना र सडक निर्माण अबधिबारे जानकारी समेत लिएका छन् ।

यसअघि चैत्र ८ गते प्रधानमन्त्री भट्टराईले सरोकारवाला निकायलाई सडक विस्तारको तुरुन्तै परिणाम निकाल्न निर्देशन दिएका थिए ।

छलफलमा ट्राफिक प्रहरीका डिआईजी गणेशराज राई र काठमाडौ उपत्यका नगर विकास योजना प्रमुख भाईकाजी तिवारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया