‘माओवादी र एमालेबीच समायोजनमा परामर्श’

काठमाडौं, १५ चैत । शान्ति प्रक्रियाका बिषयमा देखिएका समस्या समाधनको प्रयासमा एकीकृत माओवादी र एमालेका शीर्ष नेताहरुका बीच परामर्श भएको छ ।

सिंहदरबारमा आज भएको छलफलमा माओवादी लडाकुको समायोजन, पुनःस्थापनालगायतका बिषयमा छलफल भएको एमाले नेता भीम रावलले जानकारी दिए ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले नेता रावलले माओवादी पार्टी भित्रदेखिने आन्तरिक बिषयलाई बिशेष समिति वा एमालेले समाधान गर्न नसक्ने बताए । उनले भने, ‘माओवादीको आन्तरिक बिवादलाई एमालेले थेग्न सक्दैन ।’

शान्ति प्रक्रिया र सेना समायोजनका बिषयमा लडाकुको उमेर, शैक्षिक योग्यता र बैवाहिक बिषयमा लचिलो भईसकेको भन्दै एमाले नेता रावलले अरु बिषयमा सेनाको मापदण्ड पालना गर्नुको बिकल्प माओवादीसँग नरहेको बताए ।

बैठकमा एकीकृत माओवादीका शीर्ष नेताहरुले सेना समायोजनमा लचिलो हुन आग्रह गरेपछि सात बुँदे सहमति भन्दा बाहिर जान नसकिने जवाफ एमाले नेताहरुले दिएका छन् ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र संविधान लेखनका बिषयमा छिट्टै सहमति हुने बताए । उनले भने, ‘छलफल चलिरहेको छ, छिट्टै निकास आउछ ।’

छलफलमा एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई तथा एमालेबाट बरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली, बामदेब गौतम, ईश्वर पोखरेल, भीम रावल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया