तेलंगाना राज्य माग्दै फेरि आत्महत्या

हैदराबाद, १४ चैत । भारतीय राज्य आन्ध्र प्रदेशबाट अलग तेलंगाना राज्यको माग गर्दै आत्महत्या गर्ने क्रम फेरि सुरु भएको छ । तेलंगानाको बारंगल जिल्लामा सोमबार एक व्यक्तिले तेलंगाना राज्य बन्न ढिलाइ भएको भन्दै विरोधमा आत्मदाह गरे । ४८ वर्षीय श्यामला राजमौली नाम गरेका एक अटो ड्राइभरले अविलम्ब तेलंगाना राज्य स्थापना हुनुपर्ने माग गर्दै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
आत्मदाह गर्नुअघि उनले लेखेको पत्रमा तेलंगाना स्थापना गर्न भइरहेको ढिलाइले आफूलाई निराश बनाएको जनाइएको छ । पत्रमा केन्द्र तथा राज्य सरकार तेलंगाना राज्य स्थापनाको विपक्षमा रहेको आरोप लगाइएको छ । गत शनिबार सोही जिल्लामा बोज्जा नायक नाम गरेका एमबिएमा अध्ययनरत एक छात्रले तेलंगानाको माग गर्दै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए । उनको पनि घटनास्थलमै मृत्यु भएको थियो ।
ती छात्रको दाहसंस्कारका क्रममा आइतबार दंगा भड्किएको थियो । आक्रोशित भिडले कांग्रेस आई र तेलुगुदेसम पार्टीका नेताको घरमा ढुंगामुढा गरेको थियो । त्यसैगरी, महबुबनगरमा अर्का एक व्यक्तिले शरीरमा मट्टितेल छर्किएर आत्महत्या गर्ने प्रयास गरेका थिए । तर, उनको प्रयासलाई असफल बनाइएको छ । उनले शरीरमा आगो लगाएपछि नजिकै रहेका मानिसले आगो निभाएर उनलाई तत्काल अस्पताल पु¥याएका थिए । अहिले उनको अवस्था नाजुक रहेको बताइन्छ ।
आत्मदाहको क्रम बढेपछि तेलंगाना राष्ट्र समितिले मंगलबार तेलंगाना बन्दको आह्वान गरेको छ । बन्दप्रति तेलंगानाबाट निर्वाचित कांग्रेस आईका सांसद, भारतीय जनता पार्टीलगायत दलले समर्थन गरेका छन् । तेलंगाना राष्ट्र समितिले लोकसभा र विधानसभाको कार्यवाहीसमेत ठप्प पारेको छ ।
गत साता तेलंगाना क्षेत्रमा विधानसभाको ६ सिटका लागि भएको उपनिर्वाचनमा तेलंगाना समर्थक विजयी भएका थिए । त्यसयता सो क्षेत्रमा अलग राज्यको मागले गति लिएको छ ।
यसअघि पनि तेलंगाना राज्यको समर्थनमा सो क्षेत्रमा आत्महत्या हुने गरेको थियो । सन् २००९ मा गृहमन्त्री पी चिदम्बरमले अलग तेलंगाना राज्य गठन गर्ने घोषणा गरेयता तेलंगानाको माग गर्दै ६ सय १३ जनाले आत्महत्या गरेको तेलंगाना विकास फोरमलाई उद्धृत गर्दै सन्डे गार्जियनले जनाएको छ । यद्यपि, सरकारी अधिकारीले भने आत्महत्या गर्नेको संख्या यकिन नभएको बताएका छन् । तर, गत वर्षयता यस्ता आत्महत्याका घटनामा कमी आएको थियो । आत्महत्याको क्रम पुनः सुरु भएपछि यसले केन्द्र र राज्य सरकारलाई चिन्तित बनाएको छ । (एजेन्सी)

प्रतिक्रिया