रिमाल अझै धाराप्रवाह

नया र पुरानो बानेश्वरबीचको एक घरमा भर्खरै आइपुगेको छु म । यतिखेर मेरो धड्कनले सदाबहार गीत फगत एक नजरमाको ताल समातेको छ । कुरिरहेछु सोही गीतका गायक तथा रचनाकार हरिप्रसाद रिमाललाई । ८६ वर्ष काटेका वृद्ध बिस्तारै आउदै होलान् सायद
तर, यो के ? एकै छिन पनि नकुराई आइपुगी पो हाले उनी  यति छिटो आइपुग्न उनका लागि सजिलो पक्कै छैन, त्यसमाथि नाकमा अक्सिजन पाइप जोडिरहेका छन् । उनलाई अभिवादन गर्न भ्याएकै छुइन । भन्न थालिहाले– ‘ल सोध्नुस्, के सोध्ने हो ?’
सरल स्वभाव अनि सहयोगी व्यवहार देखेर छक्कै परे । आङ्खनै आ“खाले उनको अवस्था देखिरहेछु । तैपनि सोधे– ‘यहाको स्वास्थ्य कस्तो छ ?’
उनले भने, ‘यी जे छु हेरिहाल्नुभयो  मेरो माया लागेर तपाईं आउनुभयो, धन्यवाद छ ।’ अलिकति लामो श्वास ताने अनि फेरि भन्न सुरु गरे, ‘मैले जीवनमा राजादेखि रङ्कसम्म सबैको माया पाएको छु । जीवनमा आर्जन गरेको सम्पत्ति वा गाड्धन जे भन्नोस्, त्यही माया नै हो । यसै कारण पुनर्जन्म हुन्छ भने पुनः कलाको सेवक भएर यही नेपालमा नै जन्मन चाहन्छु ।’
अब उनी आङ्खनो स्वास्थ्यतर्फ मोडिए– ‘यी मेरो स्वास्थ्यस्थिति हेरिहाल्नुभयो । अहिले आएर फोक्सो तथा श्वासप्रश्वासको रोगी भए । पिसाबको रोग छुट्टै पाएको छु । डाक्टरले औषधि खादाखादै तेरो लीला समाप्त हुन्छ भनेको छ, पर्खेर बसिरहेको छु । आगे भगवान् मालिक, के गर्ने होइन र बाबु ?’ यति भनिसक्दा मज्जाले हासे उनी ।
‘एक्कैछिन है’ भन्दै बाथरुम छिरे र फर्केपछि अक्सिजन लगाए । अनि सोफामा पलेटी कसी पुनः बोल्न थाले, ‘के गर्ने फोक्साको रोगले दुःख दिइरहन्छ । डाक्टरले मलाई सकेसम्म कम बोल्न भनेको छ । नबोली बस्न सकिन्न क्यारे आङ्खनो त कामै बोल्ने । नाटक, गीत, सङ्गीत जे गर्दा पनि बोल्नै पथ्र्यो । अहिलेसम्म त्यो बानीले छाडेन, के गर्ने ?’
उनका छोराछोरी विदेशमा छन् । घरमा जो पनि सुरुसुरु माथि नै पुग्दो रहेछ । एक आगन्तुक सोझै माथि आएपछि उनले भने, ‘एक्कैछिन है, बस्दै गर्नोस्, उहापछि तपाईंसग कुरा गरौला ।’ सायद थकाइ मार्नेवाला छैनन् उनी ।
मतिर फर्केर छुटेको सिलसिला जोड्न थाले, ‘बिहान ५ बजेसम्म उठिसक्छु । नित्यकर्म सक्छु अनि केहीबेर मनमनै भगवान्लाई सम्झन्छु । हलुका कसरत गर्छु, पत्रपत्रिका पढ्छु, टेलिभिजन हेर्छु र गीतहरू सुन्छु । अचेलका गायकगायिकाको आवाज पनि राम्रो लाग्छ । तर, अलिक हतारले हो वा समय नपाएर, उनीहरूको स्वरमा साधना र रियाजको कमी पाउछु ।’ अक्सिजन पाइपले केही अप्ठ्यारो पक्कै बनाएकै छ । तर, बोलेको बोल्यै छन् उनी, एउटा स्वस्थ मानिसजस्तै– ‘मलाई मन नपर्ने खानेकुरा केही छैन । मासुको त सौखिन नै हु । अहिले पनि मासु त खान्छु तर दातले गर्दा चपाउन मिल्दैन,’ थपे, ‘थोते बुढो जो भइयो, तर पनि मासुको झोलझोल अवश्य पिउ“छु ।’
केही दिनअघिको प्रसङ्ग सम्झिए उनले– ‘अस्ति नाचघरमा एउटा सम्मान कार्यक्रम थियो । नाइ भन्न सकिएन, मुखमा अक्सिजनको कोक्रो र  सिलिन्डरको धोक्रो बोकेर पुगे समयमै तर धेरै बेर कुराइदिए । फर्केपछि मलाई डाइरिया भइदियो । जाउलो खाएर ठीक भए । यसअघि जीवनमा कहिले पनि जाउलो खाएको थिइन“ । यस्तै हो, यहा“ हरेक पल नया कुरा सिक्न, जान्न र खान पाइन्छ । सायद यसैलाई जीवन भन्छन् क्यारे हैन  ?’
लामो विगतभित्रका भोगाइ अनि स्मृति उनीभित्र प्रशस्तै जम्मा भइसकेका छन्– ‘समजीको म चेलो, गोपालप्रसाद रिमालको भाइ, महाकवि देवकोटाले आफै निर्देशन गरेको ‘रजतपुरमणि’ नाटक खेलेको हुदा एक प्रकारले मेरो जीवन नै तृप्त भएको छ ।’ त्यति बेलाका थुप्रै कुरा उनले ‘मिस’ गरेका रहेछन्– ‘खै त्यस बेलाका मानिस, खै त्यस बेलाका साग, काउली, स्वच्छ सफा पानी ? आहा, मुखै रसाएर आउछ । यी सब कुरा एकादेशमा भएजस्तो भयो । सायद सहरीकरण भएर होला ।’
‘नाटक खेल्न, गीत गाउन, सङ्गीत दिन, निर्देशन गर्न यी सब मैले स्वयम् सिके । पान खान, हुक्का–चुरोट तान्न पनि आफै“ सिके“ । अहिले रोगले गाज्यो, त्यस कारण आफूले गरेका राम्रा–नराम्रा कुराको भागी आफै भएको छु’ –यसो भनिरहदा पनि उनको अनुहार प्रफुल्लै  छ– ‘जीवनमा कसैको जी, हजुरी गरिन, नत्र म पनि कुलपति, उपकुलपति सदस्यसचिव त अवश्य हुने थिए । तर, माया प्रशस्तै पाएको छु, डाक्टरको फिसबाहेक मैले नर्भिक अस्पतालमा केहीको पनि पैसा तिर्नुपर्दैन ।’
सा“च्ची, उनलाई डाक्टरले कम बोल्नु भनेका छन् । मलाई डरडर लाग्यो– उनी धाराप्रवाह बोलिरहेछन् । अब कुराकानी टुङ्ग्याउन पर्ला सोच्दै थिए । कोठामा एक महिला प्रवेश गरिन् । रिमालले परिचय गराए– ‘ऊ मेरी पत्नी, रेडियो नेपालकी समाचारवाचक कल्याणी रिमाल ।’
अभिवादनपछि स्वास्थ्यवार्ता सकेर म बाहिरिए । माथि कौसीबाट मलाई हेर्दै उनी कराए– ‘ए बाबु, छापिएपछि एकप्रति पत्रिका ल्याइदिने कष्ट गरिदिनु होला है ।’

प्रतिक्रिया