पोप बेनेडिक्ट ल्याटिन अमेरिका भ्रमणमा

मेक्सिको, ११ चैत । पोप बेनेडिक्ट सोह्रौं अत्यधिक मात्रामा स्पेनीभाषी जनसङ्ख्या रहेको ल्याटिन अमेरिकाको पहिलो एवं ऐतिहासिक भ्रमणक्रममा शनिबार मेक्सिको पुगेका छन् । हजारौं समर्थक एवं श्रद्धालुले पोपलाई गयानाजाउतो सहरमा हर्षोल्लासपूर्वक स्वागत गरे । उनलाई स्वागत गर्नेमा राष्ट्रपति फिलिप काल्डेरोन सपत्नी उपस्थित थिए । राष्ट्रपति काल्डेरोनले भने, ‘पोपको मेक्सिको भ्रमणको निकै महत्व छ, किनभने यहाँ लागुऔषध कारोबारसित जोडिएका हिंसापूर्ण घटनाले बलियो जरा गाडेका छन् । यो समस्याबाट मेक्सिको निकै आहत छ ।’
मेक्सिकोको ८८ प्रतिशत अर्थात् झन्डै दस करोड जनसङ्ख्या कट्टर रोमन क्याथोलिक धर्माबलम्बी हुन् भने पोप बेनेडिक्टका अग्रज पोप जन पल द्वितीय नियमित अन्तरालमा मेक्सिको भ्रमणमा गइरहन्थे । मेक्सिको पुग्नुभन्दा पहिले नै पोपले  लागुऔषधरुपी ‘पापविरुद्ध लड्नुपर्ने’ बताउँदै युवालाई त्यस्तो कुलत परित्याग गर्न आहृवान गरेका थिए । पछिल्ला पाँच वर्षमा मात्रै लागुपदार्थ ओसारपसार र त्यससम्बन्धी हिंसामा पचास हजार मेक्सिकोको ज्यान गइसकेको छ । मेक्सिको भ्रमणपछि पोप क्युबा जानेछन् । हवानामा क्युबाली विदेशमन्त्री ब्रुनो रोडि्रगेजले आफूहरू पोपले ‘क्युबामा माक्र्सवाद छैन’ भने पनि वैचारिक असहमतिबारे कुराकानी गर्न तयार रहेको बताएका छन् ।
उनले भने, ‘त्यहाँ -क्युबामा) अचेल व्यवहारमा माक्र्सवाद छैन ।’ पोपले माक्र्सवादी आदर्शले अहिलेको वास्तविकतासित कुनै मेल नखाने बताउँदै समयअनुसारको नयाँ मोडेल विकास गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । उनले आफूलाई अझ प्रस्ट पार्दै भने, ‘चर्च जहिले पनि विचार र धर्मको स्वतन्त्रताको पक्षमा रहँदै आएको छ, र रहिरहने पनि छ ।’ लियोन सहर र त्यसनजिकैको अर्को नगर सिलाओमा सडकको दुवै किनारमा हजारौं भक्तजन सेतो र पहेंलो टिसर्ट लगाएर भत्भती पोल्ने घाममा पनि लामबद्ध उभिएका थिए । उनीहरू पोपलाई एक झलक हेर्न चाहन्थे ।

प्रतिक्रिया