काठमाडौंको जित

काठमाडौं: पहिलो खेलमा व्यहोरेको हारलाई बिसर्ंदै क्षेत्र नम्बर ३, काठमाडौंले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्षेत्र नम्बर ७, जनकपुरधामलाई हराएर पहिलो जित हात पारेको छ ।
समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा जनकपुरधामविरुद्ध काठमाडौंले पाँच विकेटले जित हात पार्दा अर्को समूहमा क्षेत्र नम्बर ८, पोखराले विजयी सुरुआत गर्‍यो । अघिल्लो चरण प्रवेशयात्रा केही सहज बनाउने क्रममा शनिबार काठमाडौं बलिङ र ब्याटिङ दुवैमा चम्कियो । टस जिती पहिला ब्याटिङ गरेको जनकपुरधाम काठमाडौंको कसिलो बलिङसामु ३० ओभर एक बलमा १ सय ३१ रनमा सीमित भएको थियो । सामान्य लक्ष्य काठमाडौंले ३१ ओभर पाँच बलमा पूरा गर्‍यो । विजयी टोलीका लागि जीवन लम्सालले अविजित ७१ रन बनाए । ९९ बल खेल्ने क्रममा उनले ११ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै कप्तान राजकुमार कार्कीले २१ र विकेटकिपर अदिल खानले १५ रन जोडे । पहिलो विकेटका लागि ४१ रनको साझेदारी गर्दै लम्साल र खानले काठमाडौंलाई उत्कृष्ट सुरुआत दिएका थिए ।
जनकपुरधामलाई सस्तैमा सीमित गर्ने क्रममा मोहम्मद साहिदले चार तथा प्रनिल कार्की र रामकृष्ण जैसवालले समान दुई विकेट लिए ।  तीन खेलाडीले मात्र दोहोरो अङ्कमा रन जोडेको जनकपुरधामको इनिङमा ५० अतिरिक्त रन थियो । यसअघि पहिलो खेलमा काठमाडौं क्षेत्र नम्बर ६, बैतडीसँग पराजित भएको थियो । शनिबार नै भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पोखराले क्षेत्र नम्बर ५, नेपालगन्जलाई तीन विकेटले हराएको हो ।

प्रतिक्रिया