चिट चोर्न नपाएपछि प्रहरी माथि आक्रमण

काठमाडौं, १० चैत । बारा जिल्लामा एसएलसी परीक्षामा चिट चोराउन नपाएको भन्दै परीक्षा केन्द्रमा तोडफोडमा उत्रिएका स्थानीयलाई हटाउन प्रहरीले हवाई फायर गरेको छ ।

गोलागंज–९ मा रहेको श्री कंकाली उच्च माध्यामिक बिद्यालय सिम्रौनगढ बारा परीक्षा केन्द्रमा अन्दाजी ४ सय जनाको संख्यामा रहेका सर्बसाधारणहरुले प्रहरी माथी ढुङ्गा, मुढा प्रहार गरेपछि स्थितीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

चिट चोराउन आएको स्थानीयको भिडले प्रहार गरेको ढुगा लागेर प्रहरी हवल्दार प्रबेश सिंह सहित ४ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।

उता, सुर्खेत जिल्लाको विजेडीचौरमा रहेको भानु माध्यमिक बिद्यालय परीक्षा केन्द्रमा परीक्षा समाप्त भएपश्चात स्कूल क्षेत्रमा रहेका अन्दाजी १ हजार ५ सय जनाको संख्यामा रहेका भिडले परीक्षा कडा गरेको तथा चिट चोराउन नपाएको भन्दै प्रहरी माथि ढुंगामुढा प्रहार गरेका थिए ।

प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर समेत गरी स्थितीलाई नियन्त्रणमा लिएको प्रहरी समाचार कक्षको बुलेटिनमा उल्लेख छ ।

भिडले प्रहार गरेको ढुंगाले लागेर इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएका प्रहरी निरीक्षक योगेन्द थापा घाइते भएका थिए । उनकोे मुखमा ४ टाँका लगाइएको छ ।

प्रतिक्रिया