भारोत्तोलनले नेपालगन्जमा रौनक

नेपालगन्ज, ७ चैत । बिहीबारदेखि नेपालगन्जमा सुरु हुने पहिलो दक्षिण एसियाली भारोत्तोलन खेलकुद प्रतियोगिताले खेलक्षेत्रमा नेपालगन्जलाई फेरि एकपटक ब्युँझाएको छ । ठूला खेलकुद प्रतियोगिता हुनै छाडेको नेपालगन्जमा धेरैपछि यस्तो अन्तर्राष्ट्रिय स्तरको खेलकुद हुने भएपछि खेलप्रेमीहरू उत्साहित छन् ।
पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगितालाई ऐतिहासिक बनाउन खेलाडी, खेलप्रेमी र शुभचिन्तक लागिपरेका छन् । प्रतियोगिता आयोजनास्थल महेन्द्र रङ्गशाला मात्र नभई नेपालगन्ज नै सिँगारिएको छ ।
वषार्देखि जीर्ण अवस्थामा रहेको नेपालगन्जको महेन्द्र रङ्गशालाको रूप केही दिनयता फेरिएको छ । कभर्डहल र रङ्गशाला दुलहीझैं सिँगारिएका छन् भने नेपालगन्ज नगरका चोक-चोकमा प्रतियोगितामा सहभागी हुने दक्षिण एसियाली राष्ट्रका झन्डा फहराइरहेका छन् । प्रतियोगितमा सहभागी हुन अन्तर्राष्ट्रिय खेलाडी नेपालगन्जमा आउने क्रम सुरु भइसकेको छ । मङ्गलबार पाकिस्तानी खेलाडी काठमाडौं हुँदै नेपालगन्ज आइसकेका छन् ।
२०५५ सालमा चौथो राष्ट्रिय खेलकुद सम्पन्न भएको १३ वर्षपछि नेपालगन्जको कभर्डहल, रङ्गशालाको मञ्च र जिमशालाले पहिलोपटक रङरोगन हुने अवसर पाएका छन् । नेपालगन्ज निबासी खेलप्रेमी रतनकुमार टण्डनले प्रथम दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता नेपालगन्जमा गर्ने आँट गरेपछि अहिले उनी र उनका सहयोगीहरू प्रतियोगितालाई ऐतिहासिक बनाउन कस्सिएर काम गरिरहेका छन् ।  अध्यक्ष टण्डन आफै व्यक्तिगत रूपमा लाखौं खर्च गरेर नेपालगन्ज रङ्गशाला, कभर्डहल र जिमशालाको रङरोगनलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लागेका छन् ।
भारोत्तोलनमा देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पदक दिलाउने खेलाडी सुरेन्द्र हमालको गृहनगरमा पहिलो दक्षिण एसियाली प्रतियोगिता आयोजना हुनु स्थानीय खेलाडी र खेलप्रेमीका लागि गौरवको विषय बनेको बताइँदै छ ।
महेन्द्र रङ्गशालाको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानका महिला र पुरुष गरी ६० जना खेलाडीको सहभागिता रहनेछ । दक्षिण एसियाली मुलुक भुटान र माल्दिभ्समा भारोत्तोलन सङ्घ भए पनि खेलाडी नभएका कारण ती राष्ट्रको सहभागिता हुनेछैन ।
नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष रतन टण्डनका अनुसार, प्रतियोगितामा पुरुषमा ८ तथा महिलामा ७ स्पर्धा समावेश छन् । महिलातर्फ ४८, ५३, ५८, ६३, ७५ र ७५ तौलभन्दा माथि तथा पुरुषतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ तौलभन्दा माथिको समूहको क्लिन एन्ड जर्क र स्न्याचमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा खेलाडीको डोपिङ टेस्टका लागि हङ्गेरीबाट महिला र पुरुष गरी दुई जना विशेषज्ञ  चिकित्सक आउनेछन् ।

प्रतिक्रिया