टङ्क ढकाल हटाइए

काठमाडौँ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार टङ्क ढकाललाई महामन्त्री पदबाट हटाएका छन् । पार्टी नेतृत्वलाई थाहा नदिई राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको संयुक्त सचिवालय बैठकमा सहभागी भएकोले हटाइएको स्रोतले जनाएको छ ।
‘पार्टीलाई शुद्धीकरण र सङ्गठित गर्ने क्रममा हामीले उहाँलाई महामन्त्रीबाट हटाएका हाँै,’ अध्यक्ष थापाले सौर्यसँग भने । राप्रपा र राजपासँग पार्टी एकीकरण प्रक्रिया औपचारिक रूपमा अघि नबढ्दै ढकाल बैठकमा भाग लिन पुगेको भन्दै थापा आक्रोसित बनेका थिए । पार्टी सहअध्यक्ष पदमसुन्दर लावती र महामन्त्री ढकाल राप्रपा र राजपाको एकीरकणको पक्षधर छन् । उनीहरूले केही समययता राप्रपा र जनशक्तिका दोस्रो तहका नेतासँग छलफल र बैठक गर्दै आएका थिए । सोमबार महामन्त्री ढकालले राप्रपा र राजपाका नेतासँग छलफल गरेका थिए ।
राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा समान धारण आउन नसकेपछि राप्रपा, राजपा र राप्रपा नेपालबीच एकीकरण प्रक्रिया अघि बढ्न सकेको छैन । राप्रपा र राजपाले भने एकीकरण प्रक्रिया अघि बढाएका छन् । उनीहरूले आगामी वैशाखको अन्तिम साता एकीकरण गर्ने घोषणा गरेका छन् । (सौस)

प्रतिक्रिया