उत्तर कोरियालाई दोस्रोपटक उपाधि

काठमाडौं, ६ चैत । फुटबलमा ‘पेनाल्टी’ ले भाग्य बनाउँछ, र बिगार्छ पनि । यसैकारण कमजोर टिमले पनि अप्रत्यासित नतिजा हात पार्ने गर्छन् र बलिया टिम हार्छन् पनि ।
दशरथ रङ्गशालामा सोमबार सम्पन्न चौथो एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्यालेन्जकपको प्रतिस्पर्धात्मक फाइनलमा उत्तर कोरिया र तुर्कमेनिस्तान दुवै टोलीले पेनाल्टी अवसर पाए । खेलको अन्तिम समयतिर प्राप्त पेनाल्टी अवसरलाई तुर्कमेनिस्तानले  सदुपयोग गर्न सकेन । तर लगत्तै प्राप्त पेनाल्टी अवसरलाई उत्तर कोरियाले भने गोलमा परिणत ग¥यो जुन फाइनल जित्न पूर्वीएसियाली टोलीका लागि निर्णायक बन्यो । ८६ औं मिनेटमा प्राप्त पेनाल्टीमा वैकल्पिक डिफेन्डर जाङ सङ ह्योक चुकेनन् र कोरियाले खेल २–१ ले जित्यो ।
सन् २०१० मा सम्पन्न पछिल्लो संस्करणमा पेनाल्टी सुटआउटमा तुर्कमेनिस्तानलाई हराउँदै विजेता बनेको उत्तर कोरियाले यसपटक प्रभावशाली प्रदर्शन गरे पनि च्याम्पियन बन्ने क्रममा ‘पेनाल्टी’बाटै जित निकाल्नुपरेको हो । खेल १–१ ले बराबरीतर्फ धकेलिइरहेका बेला विपक्षी टोलीले पेनाल्टी अवसर ‘मिस’ गरेको पाँच मिनेटपछि उत्तर कोरियाले पनि पेनाल्टी पाएको थियो । वैकल्पिक फर्वार्ड अमानोभले डि–बक्सभित्र फर्वार्ड पाक क्वाङ र्‍योङलाई लडाएपछि कोरियाली टोलीले ‘निर्णायक’ गोल गर्ने अवसर पाएको हो ।
यसअघि ८१ आंै मिनेटमा प्राप्त पेनाल्टीलाई तुर्कमेनिस्तानका कप्तान बर्डी सामुराडोभले सदुपयोग गर्न सकेनन् । सामुराडोभको प्रहार क्रसबारभन्दा निकै माथिबाट बाहिरियो । कोरियाली डिफेन्डर जोन क्वाङ इकले अमानोभलाई लडाएपछि तुर्कमेनिस्तानले उक्त पेनाल्टी पाएको थियो ।
त्यसअघि साविक उपविजेता तुर्कमेनिस्तानले दशरथ रङ्गशालामा सम्पन्न सो खेलमा अप्रत्यासित रूपमा अग्रता लिएको थियो । कोरियाली गोलपोस्टअगाडि खोसाखोस भइरहेको बललाई खेल सुरु भएको दोस्रो मिनेटमै सामुराडोभले गोललाइन नजिकैबाट ‘वान टच’ मा सेकेन्ड बारतर्फबाट जाली चुमाएका थिए । मिडफिल्डर अस्तानोभ उमिद्जानको पासमा आएको बललाई सामुराडोभले शतप्रतिशत सदुपयोग गरे । उनले गोल गर्नुअघि उत्तर कोरियाका गोलकिपर रि म्योङ गुकले ‘जज’ गर्ने मौका नै पाएनन् ।
तर सुरुआतमै अग्रता लिए पनि तुर्कमेनिस्तान त्यसपछि पहिलो हाफभरि दबाबमा रह्यो । ‘सोच्दै नसोचेको’ गोल खाए पनि उत्तर कोरियाले लय बिगारेन र लगातार आक्रमण रचिरह्यो । राम्रा चार गोलका अवसर विफल भएपछि ३५ आंै मिनेटमा उत्तर कोरियाले अन्ततः गोल ग¥यो र खेललाई बराबरीमा ल्याइपु¥यायो । दायाँ कर्नरको नजिकैबाट मिडफिल्डर पाक नाम चोलले निकालिदिएको ‘एरियल क्रस’ मा डि–बक्सभित्रबाट फर्वार्ड जोङ इल ग्वानले हेडमार्फत आकर्षक गोल गरेका थिए । ‘अनमार्कड’ ग्वानले सेकेन्ड बारमा सुन्दर गोल गर्दा रङ्गशालामा उपस्थित करिब ६ हजार दर्शकमा रौनकताले नयाँ रूप लिएको थियो ।
यसबीचमा उत्तर कोरियाले ‘कतिबेला गोल गर्छ’ भन्ने खालको वातावरण तयार भएको देखिन्थ्यो । खेलको नवौं मिनेटमा मिडफिल्डर पाक क्वाङ ¥योङले गोलकिपरलाई विट गरी बल अगाडि बढाए पनि त्यसलाई प्रहार गर्न नपाउँदै तुर्कमेनिस्तानका डिफेन्डर जुमानाजारोभले अगाडि बढेर क्लियर गरेका थिए ।
खेलमा बराबरीमा फर्किएपछि पनि पहिलो हाफसम्म उत्तर कोरियाले अग्रताका लागि बारम्बार प्रयास गरेको थियो । ४१ आंै मिनेटमा विपक्षी गोलरक्षक अगाडि बढेको मौका छोपी डि–बक्सबाहिरबाट पाक नाम चोलले गरेको प्रहार क्रसबारको नजिकबाट बाहिरिएको थियो । वन भर्सेस वनको स्थितिमा चोलले गोलकिपर अल यानोभअगाडि बढेको मौका छोपी टाढैबाट प्रहार गरेका थिए ।
उत्तर कोरियाविरुद्ध हार व्यहोर्न परे पनि तुर्कमेनिस्तानले केही राम्रा उपलब्धि फाइनलमा हात पा¥यो । यसअघि यस संस्करणमा एउटै पनि गोल नखाएको उत्तर कोरियाविरुद्ध खेलको सुरुआतमै तुर्कमेनिस्तानले गोल ग¥यो । एकपक्षीय हुने अनुमान गरिएको खेलमा तुर्कमेनिस्तानले अन्तिम समयसम्म कोरियाली टोलीलाई कडा चुनौती दिएर हजारौं दर्शकलाई आनन्दित तुल्यायो । समूहचरणमा नेपाल सहभागी दुई खेलपछि धेरै दर्शकको उपस्थिति रङ्गशालामा सोमबार थियो ।
यस प्रतियोगितामा उपाधिका अतिरिक्त उत्तर कोरियाले ‘फेयर प्ले’ को अवार्ड पनि हात पा¥यो । विजेता टोलीका मिडफिल्डर पाक नाम चोल ‘मस्ट भ्यालुएभल प्लेयर’ घोषित भए । उनले प्रतियोगितामा कुल तीन गोल गर्नुका साथै केही गोलका लागि अवसर पनि सृजना गरेका थिए । प्रतियोगितामा कुल ६ गोल गरेका फिलिपिन्सका फर्वार्ड फिलिप जेम्स योङहज्ब्यान्ड उच्च गोलकर्ता ठहरिए । सोमबार तेस्रो स्थानका लागि भएको खेलमा उनले दुई गोल गरेका थिए ।
तुर्कमेनिस्तानलाई हराएलगत्तै उत्तर कोरिया सन् २०१५ मा हुने एसियन कप फुटबलमा छनोट भएको छ । यसअघि चौथो एएफसी च्यालेन्जकपको पूर्वसन्ध्यामा नै उत्तर कोरियाका प्रशिक्षक युन जङ सुले आफ्नो टोली उपाधिका लागि भन्दा पनि एसियन कपको छनोटका लागि खेलेको बताएका थिए ।
प्ले अफ म्याचमा गोलको वर्षा
काठमाडौं, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा फिलिपिन्सले प्यालेस्टाइनलाई ४–३ ले पराजित गर्‍यो । फिलिपिन्सको यो सफलता अहिलेसम्मकै सबैभन्दा ठूलो हो । फिलिपिन्सलाई जित दिलाउने क्रममा प्रतियोगिताकै आकर्षण रहेका फिलिप यङहज्ब्यान्डले दुई गोल गरे । एन्जल गुवाइराडो र जेम्स गुवाइराडोले थप गोल गरे । पराजित प्यालेस्टाइनलका लागि अब्दुल हमिद अबुहमादले दुई तथा फायेद अल फताहले एक गोल गरे ।
हज्ब्यान्डले चौथो मिनेटमै दुई रक्षकलाई कटाउँदै आकर्षक गोल गरेका थिए । २१ आंै मिनेटमा हमिदले उत्कृष्ट फिनिसिङको नमुना देखाउँदै डि–बक्सबाहिरबाट गोल गर्दैै खेललाई बराबरीतर्फ मोडे । उनको घुमाउरो प्रहार सिधै गोलमा परिणत भएको थियो । त्यसको तीन मिनेटपछि नै चिफी कालिडोंगलाई डि–बक्समा लडाइएपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै हज्ब्यान्डले फिलिपिन्सलाई जिततर्फ अग्रसर गराए ।
मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा एन्जल गुवाइराडोले प्यालेस्टाइन रक्षकलाई उत्तिकै राम्रोसँग बिट गर्दै फिलिपिन्सलाई निश्चित जिततर्फ अग्रसर गराए । ६७ औं मिनेटमा हमिदले फिलिपिन्सको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै गोलअन्तर घटाए । प्यालेस्टाइनको कमब्याकको सम्भावना सक्दै त्यसको दुई मिनेटपछि नै जेम्स गुवाइराडोले अर्को गोल गरे । फायद अल फताहले ७८ आंै मिनेटमा फेरि फिलिपिन्सको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै गोल गरे ।

 

प्रतिक्रिया