सहज आपूर्ति पहिलो प्राथमिकता

काठमाडौँ, ५ चैत । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका नवनिर्वाचित अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम आपूर्तिको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।
उनले सरकारले उपलब्ध गराएको तेललाई व्यवसायीले वैज्ञानिक ढङ्गले समुचित वितरण गर्ने मात्रै बताए । उनले यसको जिम्मेवारी भने सरकारले लिनुपर्नेमा जोड दिए । एसोसियसनको ३५आँै वार्षिक साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले प्रधानलाई अध्यक्षमा निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको आइतबार सम्पन्न पदस्थापन कार्यक्रममा उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नवनियुक्त अध्यक्ष प्रधानले उपभोक्तालाई न्यायोचि रूपमा इन्धन वितरण गर्न सरकार र व्यवसायी दुवै जिम्मेवार रहेको बताए । पटकपटक उपभोक्ताबाट वितरण प्रणालीमा गुनासो आउने गरेको भन्दै प्रधानले अब यसलाई व्यवस्थित गर्ने पनि बताए । एसोसिएसनका नवनिर्वाचित महासचिव विश्वप्रसाद अर्यालले सरकारले पेट्रोलियमको आपूर्ति तथा वितरणमा ठोस नीति अवलम्बन गर्न नसकेको बताए । उनको सरकारकै कारण उपभोक्ता चर्को इन्धन अभाव व्यहोर्न बाध्य हुनुपरेको आरोप छ । एसोसिएसनको नयाँ निर्वाचित कार्यसमितिले यसका लागि पहल गर्ने उनको भनाइ छ ।
शनिबार सम्पन्न एसोसिएसनको साधारणसभाले प्रधानको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । एसोसिएसनको प्रथम उपाध्यक्षमा मनोजकुमार दास, द्वितीय उपाध्यक्षमा कपिलप्रसाद अधिकारी, महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा बलराम दास, सहसचिवमा टेकराज जोशी निर्वाचित भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यमा एकराज उप्रेती, नीता दाहाल, सुनिलकुमार गुरुङ, हिमाल गैरे, राजकुमार विष्ट, राजकुमार श्रेष्ठ, दुर्गाबहादुर बस्नेत, आत्माराम थापा, केदारमान सिंह, लीला खनाल, सुनिलकुमार बिङ्ला र अनिलकुमार सिंह निर्वाचित भएको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया