अभीजित च्याम्पियन

काठमाडौं, ४ चैत । सूर्य नेपाल मास्टर्सको १९ औं संस्करणको उपाधि २० वर्षीय अभिजित चड्ढाले जिते । शनिबार अभिजितले दुर्लभ उपाधि जित्दा उपाधिका दाबेदार मानिएका विजय कुमार दोस्रो भए । नेपाली खेलाडी शिवराम श्रेष्ठ र मुकेश कुमार संयुक्त रूपमा तेस्रो भए ।
चण्डीगढका व्यावसायिक खेलाडी अभिजितले अन्तिम चरणमा चार अन्डर ६८ को प्रदर्शन गरेका थिए भने विजय कुमारले ७२ को इभन कार्ड बनाएका थिए । शिवरामले १ ओभर ७३ को कार्ड बनाए भने मुकेशले ७१ को प्रदर्शन गरेका थिए । राजु अलीमोल्लाह र गौरव प्रतापसिंह कुल चार अन्डर २८४ सहित पाँचौं स्थानमा रहे । राजुले अन्तिम चरणमा ६८ को कार्ड बनाएका थिए । अन्य नेपाली खेलाडीमा लेबल पार ७२ को प्रदर्शन गरेका रमेश नगरकोटी कुल २९६ को कार्डसहित संयुक्त २५ औं स्थानमा रहे भने कुल २९७ को प्रदर्शन गरेका तोरण शाही संयुक्त रूपमा २९ औं स्थानमा रहे ।
उता, एमेच्योरतर्फ ८ ओभर २८६ को कार्डसहित पहिलो स्थान भेटाएका टासी छिरिङ समग्रमा २५ औं स्थानमा रहेका छन् । विजेता अभिजितले ६ लाख ४६ हजार ६ सय नेपाली रुपियाँ पाए भने भने विजय कुमारले ४ लाख ४६ हजार ६ सय रुपियाँ पाए । मुकेश र शिवराम दुवैले २ लाख २६ हजार ६ सय रुपियाँ पाए ।
विजेता खेलाडीलाई शनिबार नै नेपाल सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरे, सचिव लीलामणि पौडेलका साथै सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक सञ्जीव केशव, नेपाल व्यावसायिक गोल्फ सङ्घका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ तथा पिजिटिआईका निर्देशक उत्तमसिंह मुण्डीले पुरस्कृत गरेका थिए । उक्त अवसरमा मुख्य सचिवले नेपाल सरकारले पहिले घोषणा गरेको लुम्बिनी भमण वर्ष, २०१२  शीर्षक रहेको सूर्य नेपाल प्रालिको कर्पाेरेट क्यालेन्डरको विमोचन गरे ।
अभिजितले पहिलो होलमै वर्डी बनाउँदै उत्कृष्ट सुरुआत गरेका थिए । त्यसबीच विजय कुमारले लगातार बोगी बनाएर आफ्नो लय गुमाएका थिए । पहिलो नौ होलको खेलको अन्त्यतिर आफ्नो फर्म भेटाएर आठ अन्डरको स्थितिमा रहेका शिवराम दोस्रो स्थानमा थिए । त्यसपछि अभिजितले सातौं र नवौं होलमा थप दुई वर्डी बनाए । विजयले १५ औं होलपछि आगामी पाँच होलमा चार वर्डी बनाउँदै अग्रतालाई तीन स्ट्रोकमा झारेका थिए । तीन होल बाँकी छँदा विजय १६ र १७ औं होलमा बोगीबाट जोगिन नसकेपछि अभिजितको अग्रता पाँच स्ट्रोकको भयो । यसका साथै परिणाम स्पष्ट हुन पुग्यो । च्याम्पियनले छोटो दूरीको रिटर्न पट गुमाएर बोगी बनाउन पुगे तर त्यतिबेलासम्म उपाधि उनको भइसकेको थियो ।
यसबीच विजयसँगै रहेका शिवरामले अन्तिम होलमा बङ्करबाट लिएको तेस्रो सट बिग्रन पुगेपछि उनी बोगीबाट जोगिन सकेनन्, जसका कारण विजय दोस्रो भए भने  शिवराम तेस्रो स्थानमा सीमित रहे ।

प्रतिक्रिया