बैद्य समूहले सरकार ढाल्न ३ मोर्चा प्रयोग गर्ने

काठमाडौं, ४ चैत । प्रमुख सत्तारुढ दल एकीकृत माओवादीको असन्तुष्ट पक्षले बर्तमान सरकार जनविरोधी र जनघाती रहेको आरोप लगाउदै राजीनामा गराउन सदन, सडक र पार्टी भित्र संघर्ष चर्काउने घोषणा गरेको छ ।

काठमाडौंको तारे होटेलमा आज पत्रकार सम्मेलन गरेर बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले सरकारको राजीनामा माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै माओवादी सचिव सीपी गजुरेलले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

उनले अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय समितिको निर्णय कार्यान्वनय नगाएको आरोप लगाए । उनले भने, ‘सरकार एक पछि अर्को गर्दै राष्ट्रघाती र जनघाती निर्णय गर्न थालेको छ, यो सरकार रहनु हुँदैन ।’

भारतसँग भएको ‘विप्पा’ सम्झौता खारेज गर्नुपर्ने, जनसंविधान बनाउनुपर्ने, सम्मानजनक सेना समायोजन हुनुपर्ने, केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयनलगायतका माग राखेर उपाध्यक्ष बैद्य समूहले सरकारको राजीनामा माग गरेको हो । सचिव गजुरेलले प्रधानमन्त्रीको राजीनामा गराउन सडक, सदन र पार्टी भित्रै सघर्ष गर्ने बताए ।

प्रधानमन्त्री भट्टराईले राजीनामा नदिए अविश्वासको प्रस्ताव समेत ल्याउने तयारीमा आफूहरु रहेको गजुरेलको भनाई थियो ।

केही समय मत्थर भएको माओवादीको आन्तरिक घरझगडा पत्रकार सम्मेलनसँगै पुनः छताछुल्ल भएको छ । शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री भट्टराईले राजीनामा दिएर बाटो खोलीदिनुपर्ने गजुरेलले माग गरे ।

उनले प्रधानमन्त्री भट्टराईलाई एक साता भित्र राजीनामा गर्न लगाएर सरकारबाट फिर्ता बोलाउने निर्णय केन्द्रीय समितिमा भएपनि अध्यक्ष दाहालले निर्णयहरु कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाए । उनले प्रधानमन्त्रीको राजीनामाको कुरा चार साता बितिसक्दा पनि कार्यान्वयन नभएपछि पार्टीको केन्द्रीय समिति निर्णय कार्यान्वयन गराउन बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको दाबी गरे ।

सचिव गजुरेलले पार्टी बिभाजनका लागि प्रधानमन्त्रीको राजीनामा र संघर्षका कार्यक्रम सार्वजनिक नगरेको दाबीपनि गरे । उनले पार्टी बिभाजन नगर्ने दोहराएका छन् । पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष मोहन बैद्य र रामबहादुर थापा भने अुपस्थित रहेका थिए । पार्टी काम रहेका कारण बैद्य र थापा नआएको गजुरेलको भनाई थियो ।

पत्रकार सम्मेलनमा सचिव गजुरेलका साथ स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द भने सहभागी थिए ।

प्रतिक्रिया