मगरातको फेरो

नेपालमा तीन किसिमको मगर भाषा छ । डोल्पाका मगरले काइके भाषा बोल्छन्; रुकुम र रोल्पाका मगरहरू खाम (अठार मगराती) भाषा बोल्छन् भने, पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका मगर ढुट (बाह्र मगराती) भाषा बोल्छन् । यी तीनै किसिमका मगर भाषा भोट चिनियाँ परिवारकै भए पनि, मगर नाउँबाहेक ती भाषामा धेरै कुरो मेल खाँदैन । काइके मगर तिब्बती भाषासित मिल्छ; खाम मगर किराती (राई, लिम्बू) भाषासित मिल्छ भने पुर्बेली मगर भाषासँग धेरै मिल्ने अर्को कुनै भाषा नेपालमा छैन भने पनि पुग्ला । मेरा भागमा स्थलगत अध्ययनमा चाहिँ त्यही पूर्वी (ढुट) मगर परेको थियो । सबभन्दा बढ्ता छरिने मगर भाषा नै त्यही हो । यो ढुट मगर भाषा त पश्चिममा दैलेख र सुर्खेतमा पनि बोलिँदो रहेछ, पूर्वमा उदयपुरमा ठूलो सङ्ख्यामा बोलिन्छ । तानसमेत प्रस्ट छुट्याउने गरी खोटाङका मगर पनि मगर भाषा बोल्दा रहेछन् । मेचीपारि केही मात्रामा आसामसम्म पनि यो मगर भाषा बोलिन्छ । मध्यकालमा यसै मगरले धेरै राजनीतिक शक्ति बटुलेको थियो । मगरहरूको जमोट बस्ती भएको क्षेत्रलाई मगरात भनिन्छ ।
मैले मगर भाषाको वर्ण निर्धारण २०५० सालमा प्रज्ञा प्रतिष्ठानमा गरेको थिएँ, याक्सन एइडमा मगर भाषाको वर्ण वैज्ञानिक आलेखन सिकाएको थिएँ, नेपाल मगर सङ्घमा मगर भाषाका तानको विश्लेषण गरी दिएको थिएँ; हीरासिंह थापालाई मगर शब्दकोश बनाउने काममा प्राविधिक सल्लाह दिएको थिएँ र लोकबहादुर थापाको मगर भाषाको व्याकरणको सम्पादन तथा परिमार्जनमा विशेषज्ञ भएर सल्लाह दिएको थिएँ । मैले मगर भाषा र मग्यार (हङ्गेरियाली) भाषामा १६ प्रतिशत शब्द मेल खाने विश्लेषण पनि गरेको छु । अनुभवको यसै भरमा मैले मगर भाषाको मौलिकस्वरूप पश्चिम स्याङ्जाको भाषिकामा भएको टुङ्गो लगाएको थिएँ । मगर भाषाको स्थलगत सर्वेक्षण गर्नु गाह्रो छ, किनभने फराकिलो क्षेत्रमा बोलिने भाषाका अनेक भाषिका हुनु स्वाभाविक हो, त्यसैले मैले सबै क्षेत्रका मगर भाषाको नमुना सर्वेक्षण गर्ने सुर गरेँ ।
जुनसुकै भाषा वरिपरि अरू भाषाले घेरिएको हुन सक्छ; अर्थात् जुनसुकै भाषाका भाषिकाको एउटा निश्चित क्षेत्र हुन्छ । भाषा जोडिएका ठाउँमा पारस्परिक प्रभाव हुन्छ । अरू भाषाको पारस्परिक प्रभाव नभएका क्षेत्रको वक्ता खोज्नुपर्‍यो भने त्यस्तो क्षेत्र खोज्नुपर्छ, जुन क्षेत्रभित्र भरसक अरू भाषा बोल्ने मान्छे नहोऊन् । सकेसम्म ठूलो जनसङ्ख्या भए, त्यस भाषिक क्षेत्रका बीचतिर कुनै भाषाको चोखो रूप पाइन सक्छ । भाषाको आदर्श वक्ताले भरसक आफ्नो जन्मथलो पाँच वर्षभन्दा बढ्ता नछाडेको होस् ।
मैले चेलाहरूलाई साथ लगाएर पश्चिम स्याङ्जाको आलमदेवी गाविसलाई लक्ष्य बनाएँ । काठमाडौँबाट पश्चिम स्याङ्जा पुग्ने बाटैमा तनहुँ पर्नाले मैले पहिले तनहुँ जाने विचार गरेँ । लोकबहादुर थापाले मलाई तनहुँका मगर भाषा बोलिने आदर्श गाउँमा नाजुङ र सेटाङको नाउँ दिएका थिए भने पोखराका मेरा शिष्य चूडामणि खनालले कोर्लाङ, मोचालाङ, मानुङ, गुणादी र खैरिनी टारको नाउँ टिपाइदिएका थिए । मैले कि सेटाङ कि नाजुङ जाने मन बनाएँ । चूडामणि खनालले हामीलाई गुणादीमा सेटाङका मगरहरूसित भेट गराइदिए । हामीले दमौलीबाट सेटाङ जाने जिप पाइने सूचना पायौँ र हामी दमौलीतिर लाग्यौँ अनि बीसघरेको सेती र मादी खोलाको पुल तरेर झापुटारमा जिप चढ्न पुग्यौँ । हाम्रा सौभाग्यले जिप पाइएन, किनभने त्यो उकालो काट्न हामीलाई सजिलो पर्छ कि गाह्रो पर्छ भन्ने कुरो नहिँडी थाहै पाइने थिएन अनि दामी अनुभव भनेको कुरो नै लिइरहेका बेलामा गाह्रो हुने, पछि सम्झेर ल्याउँदा आनन्द आउने न हो !
सेटाङ पुग्न मान्छेले पहिले डेढ घन्टा लाग्छ भने, जति हामी बाटो काट्दै गयौँ, उति उनीहरूको जवाफमा समय बढेर दुई घन्टादेखि पाँच घन्टासम्म पुग्यो । हामी काहुँ शिवपुर गाविसको गैराखुँदी पुग्दा घाम डुब्न आँट्यो । हामीले सेटाङ नपुग्ने निर्णय ग¥यौँ । खुँदी गाउँका डाँडाखुँदी र गैराखुँदी भन्ने दुइटा बस्ती रहेछन् । कुनचाहिँ गाउँ रोज्ने भन्ने निर्णय माथिकै आधारले गर्‍यो; डाँडाखुँदीमा छेत्रीबाहुन र कामीदमाईका घर रहेछन्, गैराखुँदीमा मगरका घर मात्र रहेछन्; डाँडाखुँदीभन्दा गैराखुँदीमा घरहरू पनि धेरै रहेछन्; गैराखुँदीमा दैनिक बोलचालमा मगर भाषा मात्र बोलिने रहेछ । यिनै कारणले गर्दा हामीले झन्डै पचास साठीवटा घर भएको गैराखुँदी रोज्यौँ ।
एउटा स्थानीय नेता (दीपक) लाई हामीलाई बास खोजी गर्न लगायौँ; उनलाई मैले भने, ‘हामी मगरकै सिकुवा (दलान) मा बास बस्न पाए, मगरकै घरमा गाँसबासको खर्च तिर्न पाए रमाउँथ्यौँ ।’ दीपकले हामीलाई पहिलेका वडाध्यक्षकै घरमा चाँजो मिलाइदिए ।
गैराखुँदीकै मगरको सिकुवा रोजेकाले हामीलाई धेरै प्रश्नको जवाफ कसैलाई नसोधे पनि थाहा भयो, वक्ताले धक मानेर भन्न सजिलो नमान्ने प्रश्नको जवाफ बटुल्न पनि गाह्रो भएन, प्रश्नावलीमा नभएका संस्कृति र मानव शास्त्रसित सम्बन्धित कुराको जानकारी त्यसै थपियो; त्यसले गर्दा हाम्रो काम छिटो भयो । गैराखुँदीमा दुई बास बसेर पश्चिम स्याङ्जा ताकेर हामी पोखरातिर लम्क्यौँ । जुनसुकै ठाउँको जिआइएस (अक्षांश, देशान्तर र उचाइ) नाप्तै हामी दमौली पुग्यौँ ।
दमौलीबाट पोखरा जान चढेको हाम्रो बस गुणादी पुगेर रोकियो । चक्काजाम रहेछ । चक्काजाम ‘नयाँ नेपाल’ को विकासे संस्कृति भएकाले आफ्नो काममा भाँजो हालेका बेलामा पनि विकासप्रिय नेपालीले रमाउन सिक्नुपर्छ भन्ने हल्लावादी राजनीतिक संस्कारलाई पचाएर हामी पनि पिचका बीचमा बस राखेर छेउका घाँसमा पलेँटी मार्न बाध्य भयौँ । केही घन्टाको अड्को सकेर त्यो बास पोखरामा पाहुना लाग्यौँ र भोलिपल्ट सखारै स्याङ्जाको गल्याङ ताकेर हिँड्यौँ । गल्याङबाट जिपमा स्याङ्जाको रमणीय खेती हेर्दै आलमदेवी पुग्दा साँझ पर्‍यो ।
आलमदेवीमा थमानसिंह रानाले हाम्रो बासको चाँजो आलमदेवीका पुजारीको घरमा मिलाइदिए । मगर गाउँमा ज्वाइँलाई भान्जा र बुहारीलाई भान्जी साइनो लगाउँछन् भन्ने कुरो तनहुँमा पनि यहाँ पनि बिर्सेकाले म अलिकति अल्मलिएँ । त्यहाँको मगर भाषाको सामग्री सङ्कलन गरेपछि के थाहा भयो भने, ‘हामीले ताकेको आदर्श मगर गाउँचाहिँ लसर्घा रहेछ जहाँ मगर भाषा मात्र बोल्ने झन्डै दुई सय ५० घर रहेछन् ।’ मेरा हिसाबमा मगर भाषाका सामग्री बटुल्न लसर्घाभन्दा आदर्श गाउँ अरू हुँदैनन् र छैनन् पनि । लसर्घा पनि आलमदेवी गाविसमै पर्ने भएकाले हामी झुक्किएर आलमदेवी पुगेका रहेछौँ, त्यसैले हामी भोलिपल्ट बिहान लसर्घातिर ओल्र्यौँ ।
आलमदेवी गाविसका पूर्वअध्यक्ष नरबहादुर रानाले आदर्श वक्ता उनकै आँगनमा पनि बटुली दिए, वक्ताको घरैसम्म पनि पुर्‍याइदिए र हाम्रो खाने चाँजो पनि मिलाइदिए । लसर्घाको मगर भाषा मलाई सबभन्दा आदर्श र ऐतिहासिक भाषा विज्ञानका आधारमा सबभन्दा मौलिक लाग्यो । लसर्घाको मगर भाषामा ‘म आएँ’ भन्न ‘ङार्‍हाङ्’, ‘तपाईं आउनुभयो’ भन्न ‘नार्‍हास्’ र ‘ऊ आयो’ भन्न ‘र्‍हाहा’ भन्नुपर्छ भने, अन्यत्रको मगर भाषामा ‘र्‍हाहा’ भनेपछि सबैलाई पुग्छ । लसर्घाकै बेहोरा पाल्पाका पीपलडाँडा र आरेभन्ज्याङमा पनि पाइन्छ अरे !
असोजकै साँझमा पनि आलमदेवी डाँडामा पुग्दा जाडै थियो । डाँडाबाट हेर्दा पश्चिम स्याङ्जाको त्यो भेग तीनतिरबाट कालीगण्डकीले घेरेको देखियो । कालीगण्डकीवारि स्याङ्जा, पारि एकातिर गुल्मी र अर्कातिर पाल्पा रमणीय देखिए । कालीगण्डकीले तीनतिर छेकेकाले पनि पश्चिम स्याङ्जाको यस भेगमा मगर भाषाको मौलिकता जोगिएको रहेछ । लसर्घाको काम सकेर हामी पैदलै कालीगण्डकीको पुल तरेर बस चढ्न गुल्मीको रुद्रवेणी पुग्यौँ र पूरै झाङ्गलझुङ्गल पार्ने बस यात्रा गरेर गुल्मीको रिडी हुँदै फेरि कालीगण्डकी तरेर पाल्पाको तानसेन पुग्यौँ ।
पश्चिम पाल्पाका मगर मगर भाषा बोल्न जान्दैनन्, पूर्वी पाल्पाका फोक्सिङकोट, पीपलडाँडा, सरापकोट आदि गाउँका मगरहरू मात्र मगर भाषा बोल्न जान्दछन् । तानसेनका रैथानेहरूसँग कुराकानी गरेर फोक्सिङकोट जाने निधो गर्‍यौँ तर दुर्भाग्यवश भोलिपल्ट गाडी गएन अनि मैले दुवैजना चेलालाई नवलपरासीको अरुणखोलामा ओर्लेर भेडाबारी पुग्न, अरुणखोलामै फोक्सिङकोटका मगरसित अन्तत्र्रिmया गर्न र त्यसपछि सुर्खेत र दैलेखको मगर भाषाको लगत बटुल्न रमेश खत्रीलाई अनि सिन्धुली र उदयपुरको मगर भाषाको लगत बटुल्न इन्द्रेश ठाकुरलाई पठाएर मचाहिँ तानसेनबाटै काठमाडौँ फर्कें ।
मगरातको यो फेरो मार्दा के कुरो थाहा भयो भने, मगर गाउँमा त्यति चोरी लाग्दो रहेनछ अनि मगरहरू गीत गाउनुपर्दा र चिठी लेख्नुपर्दा नेपाली भाषा नै रोज्दा रहेछन् । लसर्घामा बाटो हिँड्दा एउटी अधबैँसेलाई मैले भने, ‘मगर गाउँका कुकुर पनि कति भलाद्मी ! भुक्तैनन् !’ उनले प्रत्युत्पन्नमति जवाफ दिइन्, ‘सोझो होला नि, मगरजस्तो !’

प्रतिक्रिया